मोरङमा प्रहरीको गोली लागेर गाजा तस्कर घाइते, दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । मोरङमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको र चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्लाकै महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन् ।

प्रहरीका अनुसार राति गाँजा बोकेर भारततर्फ जाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि नरोकेपछि प्रहरीले दोस्रो राउन्ड हवाई फायर गर्दा चलाइएको गोली चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको हो । घाइते चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट करिब १०० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका-५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो ।

उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट राति गस्ती टोली खटिएको थियो । सोही क्रममा राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।