दसैँमा तीन दिन बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द, फोहोर जथाभाबी नफाल्न महानगरको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँकामा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहने जनाएको हो ।

महानगरपालिकाका अनुसार उक्त मितिबाहेक अन्य दिनमा भने ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जनको कार्य यथावत् सञ्चालन हुनेछ ।

ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोर व्यवस्थापनमा असुविधा हुन सक्ने भन्दै महानगरपालिकाले उपत्यकावासीलाई घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा नफाल्न आग्रह गरेको छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्टाछुट्टै वर्गीकरण गरी राख्न तथा चाडपर्वका समयमा घरआँगन, टोल र सार्वजनिक स्थान सफा राख्न पनि अनुरोध गरेको छ ।

वातावरणीय स्वच्छता कायम राख्न र फोहोरमैला व्यवस्थापनलाई सहज, व्यवस्थित तथा वातावरणमैत्री बनाउन महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण उपत्यकावासीमा अपिल गरिएको छ ।