
काठमाडौँ । नेपाल आयल निगमले दसैँको बिदामा पनि १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको छ । निगमले दसैँको अवसरमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि देशका विभिन्न स्थानमा रहेका १३ वटा डिपो तथा कार्यालय खुला राख्ने भएको हो ।
निगमले विजयादशमीको अवसरमा उपभोक्ताको हितलाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउन सम्बन्धित डिपो तथा कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर, मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी प्रादेशिक कार्यालय पोखरा, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा, कर्णाली प्रादेशिक कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी खुला रहनेछन् ।
त्यसैगरी नेपालगञ्ज, दाङ र जनकपुरस्थित इन्धन डिपो तथा झापाको चारआली, विराटनगर र दिपायलस्थित शाखा कार्यालयबाट पनि तोकिएको मितिमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने निगमले जनाएको छ।
निगमले सार्वजनिक गरेको तालिकाअनुसार कार्यालय तथा डिपो खुल्ने मिति फरक-फरक छन् । उपभोक्तालाई आफूलाई पायक पर्ने कार्यालय वा डिपो खुल्ने मिति हेरेर पेट्रोलियम पदार्थ खरिद गर्न निगमले अनुरोध गरेको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा निगमको केन्द्रीय कार्यालयका सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
