पशु बली प्रथाको विकल्प खोज्न धार्मिक गुरु र अधिकारकर्मीको जोड

दियोपोस्ट संवाददाता

काठमाडौँ । धार्मिक आस्था र परम्पराका नाममा हुँदै आएको पशु बली प्रथामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ । धार्मिक स्वतन्त्रताको संवैधानिक अधिकारलाई सम्मान गर्दै पशुमाथि हुने क्रूरता अन्त्यका लागि कानुनी, धार्मिक र सामाजिक तहबाट पहल गर्नुपर्नेमा विभिन्न धर्मका गुरु, अधिकारकर्मी तथा सञ्चारकर्मीले जोड दिएका छन् ।

जागरण मिडिया सेन्टर, स्नेहाज केयर र अन्तरधार्मिक शान्ति महासंघ नेपालको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘करुणामय समाज निर्माणमा धार्मिक, आध्यात्मिक तथा सञ्चारको भूमिका’ विषयक अन्तरसंवादमा सहभागी वक्ताहरूले पशु बलीको विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले धार्मिक स्वतन्त्रताको अधिकारलाई सम्मान गर्दै समयअनुसार पशु बलीसम्बन्धी परम्परामा पनि परिवर्तन आवश्यक रहेको बताइन् । मासु खानु र पशुप्रति करुणा राख्नु फरक विषय भएको उल्लेख गर्दै उनले पशु संरक्षणको भावना विकास गर्नुपर्नेमा जोड दिइन् ।

संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले धार्मिक स्वतन्त्रताको नाममा पशुमाथि क्रूर व्यवहार गर्न नहुने बताइन् । “बलीको नाममा पशु नै किन रु पशु बाहेक अरू वैकल्पिक उपाय पनि अपनाउन सकिन्छ,” उनले भनिन् ।

प्रविधिको विकाससँगै धार्मिक अभ्यासका स्वरूपसमेत परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वकर्माले पशु बलीजस्ता विषयमा खुला बहस र छलफल आवश्यक रहेको बताइन् ।

स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले धार्मिक स्थलहरू बधशालामा परिणत हुँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने बताइन् । आफू हिन्दु धर्मावलम्बी भए पनि पशु अधिकारको पक्षमा रहेकाले पशु बली प्रथाको विरोधमा उभिएको उनको भनाइ थियो ।

बिस्केट जात्रा, महाअष्टमी, महानवमी, सिकाली जात्रा र दुर्गापूजालगायतका अवसरमा पशु बली दिने प्रचलन रहेको उल्लेख गर्दै श्रेष्ठले धार्मिक स्थललाई बधशालाका रूपमा प्रयोग नगर्न आग्रह गरिन् । “बधशाला छुट्टै भएकाले धार्मिक स्थललाई बधशाला नबनाउन अनुरोध छ,” उनले भनिन् ।

भक्ति, श्रद्धा, कृतज्ञता, प्रतिज्ञा र आध्यात्मिक समर्पणका नाममा पशु बली दिने गरिए पनि पशुलाई समेत पीडा, डर, तनाव र असहजता महसुस हुने तथा बाँच्ने इच्छा हुने उनले बताइन् ।

एकातिर कृषि तथा पशु उत्पादन बढाउने लक्ष्य राख्ने र अर्कोतिर पशु बधशालाको संख्या बढाउँदै जाने प्रवृत्ति विरोधाभासपूर्ण रहेको श्रेष्ठको भनाइ थियो । पशु संरक्षणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनले मुलुकी अपराध संहितामा पशु बली तथा पशुमाथिको क्रूर व्यवहारसम्बन्धी सजाय पर्याप्त नभएको दाबी गरिन् ।

हिन्दु धर्मगुरु दामोदर गौतमले हिन्दु धर्ममा विभिन्न चाडपर्व तथा अवसरमा पशुपक्षीको पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै हिन्दु धर्मले पशु बली प्रथालाई संरक्षण नगर्ने धारणा राखे । उनले शाकाहारी जीवनशैलीलाई पनि विकल्पका रूपमा प्रस्तुत गरे ।

इस्लाम धर्मगुरु मौलाना नजरुल हुसेनले पशुलाई अमानवीय तरिकाले बली दिने वा यातना दिने कार्य गर्न नहुने बताए । मस्जिदमा बली नदिइने तथा बलीको मासु र रगत अल्लाहसम्म नपुग्ने धार्मिक मान्यता रहेको उल्लेख गर्दै उनले मानवलाई हानि पुर्‍याउने विकृति र कुरीति हटाउनुपर्नेमा जोड दिए ।

‘बली भनेको सबै कुराको बली हो,’ उनले भने, ‘बली दिने नै हो भने कुनै पनि जनावरलाई कमभन्दा कम दुःख र कष्ट हुने गरी बली दिनुपर्छ ।’

साइ केन्द्रकी प्राध्यापक लालकुमारी गुरुङले बली चढाउनैपर्ने अवस्था भए पनि त्यसको वैकल्पिक उपाय अपनाउनुपर्ने बताइन् ।

वरिष्ठ पत्रकार एवं संविधानसभा सदस्य विनोद पहाडीले दसैँका बेला ठूलो संख्यामा पशुको काटमार हुने गरेको उल्लेख गर्दै पशु बली प्रथाबारे बहस गर्न काठमाडौंमा चार जना महिलाले अन्तरसंवाद आयोजना गर्नु सराहनीय भएको बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पशु बली प्रथासम्बन्धी विभिन्न प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै श्रेष्ठले गढीमाईमा पशु बलीसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतबाट परमादेश जारी भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन् ।

कार्यक्रम सञ्चालक तनुजा बस्नेतले पशु बली प्रथाले दलित समुदायमाथिको विभेदलाई समेत निरन्तरता दिन सक्ने बताइन् । पशु बली दिने र त्यसको मासु दलित समुदायका व्यक्तिलाई खान बाध्य पार्नेजस्ता कार्य जातीय विभेदसँग जोडिने उनको भनाइ थियो । यस विषयमा राष्ट्रिय दलित आयोगलगायत सम्बन्धित निकायले समेत अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

अन्तरधार्मिक शान्ति महासंघ नेपालकी अध्यक्ष सिमा खानले महासंघ सबै धर्मका लागि खुला रहेको बताउँदै सबै धर्मसँग सम्बन्धित विषयमा बहस र छलफल गर्न सकिने धारणा राखिन् । पशु बली प्रथा अन्त्यका लागि हिन्दु धर्मावलम्बीले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो ।

मुस्लिम समुदायको जनसंख्या करिब पाँच प्रतिशत रहेको उल्लेख गर्दै खानले पशु बलीसम्बन्धी बहसलाई नीतिगत तहसम्म पुर्‍याउनुपर्ने बताइन् । “क्रिश्चियनलाई धर्म बेचुवा र मुस्लिमलाई पाकिस्तान जाऊ भन्ने प्रचलन छ,” उनले भनिन्, “तर मुलुकमा हिन्दुको जनसंख्या धेरै भएका कारण पशु बली प्रथा अन्त्यका लागि हिन्दु धर्मावलम्बीले नै विशेष पहल गर्न जरुरी छ ।”

कार्यक्रममा किरात धर्मगुरु डोङ धोज, जैन धर्मगुरु डा. नमनकुमार उपाध्याय र ब्रह्माकुमारी शोभालगायतले पनि पशु बली प्रथा, धार्मिक आस्था, करुणा र अहिंसाका विषयमा धारणा राखेका थिए ।

अन्तरसंवादमा सहभागी वक्ताहरूले पशु बलीलाई धार्मिक परम्पराको विषयमा मात्र सीमित नराखी पशु अधिकार, मानवीय संवेदना, कानुनी व्यवस्था, सामाजिक विभेद र धार्मिक सुधारसँग जोडेर बहस गर्नुपर्नेमा जोड दिएका छन् ।