दसैँ मनाउन गाउँ फर्किनेको लर्को, १० लाख बढीले छाडे राजधानी

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर आ-आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढ्दै गएको छ । हरेक वर्ष दसैँका बेला उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिने गरेकामा यस वर्ष पनि लाखौँ मानिसले उपत्यका छाडिसकेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार दसैँ मनाउन शनिबारसम्म १० लाख मानिसले काठमाडौँ उपत्यका छाडेका छन् ।

‘आज र भोलि यात्रु बाहिरिने मुख्य समय हो, तर पोहोर-परारको तुलनामा यस वर्ष मानिसहरू कम बाहिरिएका छन्,’ अध्यक्ष सिटौलाले भने, ‘भोलिसम्ममा करिब ११ लाख यात्रु उपत्यकाबाट बाहिरिने हाम्रो अनुमान छ ।’

विगतका वर्षको तुलनामा यसपटक उपत्यका छाड्ने यात्रुको सङ्ख्या घट्नुमा सडकको दुरवस्था र यात्रुमा देखिएको मनोवैज्ञानिक त्रास मुख्य कारण रहेको सिटौलाको भनाइ छ । बाढीपहिरोका कारण सडकको अवस्था र यात्राका क्रममा हुन सक्ने जोखिमबारे अनिश्चितता बढेकाले धेरैले यात्रा गर्न हिचकिचाएको उनले बताए ।

उनका अनुसार देशको समग्र अवस्थासमेत अनुकूल नरहेकाले विगतका वर्षमा जस्तो दसैँको उमङ्ग र उत्साह यसपटक देखिएको छैन ।

प्रतिकूल परिस्थिति र सडकको समस्याका बाबजुद यातायात व्यवसायीहरूले यात्रुलाई सुरक्षित तथा व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्‍याउने प्रयास गरिरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार लामो दूरीमा यात्रा गर्ने अधिकांश यात्रु गन्तव्यमा पुगिसकेका छन् । आज र भोलि भने काठमाडौँ आसपासका जिल्लामा जाने यात्रुको चाप बढी छ । काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र रामेछापलगायतका जिल्लातर्फ छोटो तथा मध्यम दूरीका यात्रु बाहिरिने क्रम जारी रहेको अध्यक्ष सिटौलाले जानकारी दिए ।

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै मुख्य सडकमा सवारीसाधनको चापसमेत बढेको छ । हाल बीपी राजमार्ग, कान्ति लोकपथ र नागढुङ्गा-मुग्लिन सडकखण्ड सञ्चालनमा रहे पनि एकैपटक ठूलो सङ्ख्यामा सवारीसाधन बाहिरिँदा केही सडकमा लामो जाम हुने गरेको छ । यसले गर्दा यात्रुले बाटोमा केही सास्ती खेप्नुपरेको छ ।