१२ करोड डिल प्रकरण: ‘फरार अभियुक्त’ किरण नेपाली भिआइपी कक्ष हुँदै भारत, दुबई पुगेको प्रमाण

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बोलेको भनी प्रसारित अडियो प्रकरणमा मुछिएका किरण नेपालीको विवादास्पद ट्राभल हिस्ट्री फेला परेको छ।

रास्वपा सांसद सुनारको अडियो आउनु अघि उक्त अडियो ल्याउनका लागि आफूले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग १२ करोड रुपैयाँ लिएको विवादास्पद दाबी गरेका किरण नेपालीको सोही दाबीसँग मिल्ने गरी ट्राभल हिस्ट्री फेला परेको हो।

आफूलाई दीपक मनाङेको धर्मपुत्र बताउने किरण नेपालीले अडियो प्रकरणमा मुछिएकी महिलाको भाइ नाता पर्ने व्यक्ति बताउँदै आएका छन्। दियो पोस्टले प्रसारण गरेको भिडियोमा उनले आफूलाई खगेन्द्र सुनारको अडियो उपलब्ध गराएबापत दुबईमा दुई वटा अपार्टमेन्टसमेत उपलब्ध गराएको दाबी गरेका छन्। भिडियोमा उनका साथीहरूबिच भएको अडियो संवादमा प्रमाण चाहिए अपार्टमेन्ट बुकिङको कागजातसमेत देखाउने र दुबईको बैङ्कमा रकम जम्मा भएको विवरणसमेत देखाउनेसम्मका कुराकानी भएका छन्।

भिडियोमा उनका साथी नारायण भण्डारीसँग संवाद भएको देखिएको छ। दियो पोस्टको सम्पर्कमा आएका किरणले आफूले नारायण भण्डारीसँग संवाद गरेको बताएका छन्, यद्यपि आफूलाई करकापमा पारेर भिडियो रेकर्ड गराएको उनको दाबी छ।

यता भण्डारीले भने आफ्नो फेसबुक म्यासेन्जरमा किरण नेपालीले नै फोन गरेर यो सबै विवरण सुनाएको र सरकारले आवश्यक ठानेमा सबै प्रमाण उपलब्ध गराउने बताएका छन्। सामाजिक सञ्जालमार्फत नै उनले यो घोषणा गरेका छन्। किरणले आज सार्वजनिक गरेको भिडियोमा आफूलाई करकापमा पारेको र मदिरा सेवन गराएर भिडियो बनाएको उल्लेख गरेका छन्। एक पत्रकारले काठमाडौंकै एक रेस्टुरेन्टमा मदिरा खुवाएर किरणलाई भिडियोमा बोल्न दबाब दिएको हावादारी दाबीसमेत गरेका छन्।

तर, दियो पोस्टलाई प्राप्त तथ्यहरूले नेपालीले अडियोमा दाबी गरेका अधिकांश विषय सत्यको नजिक रहेको पाइएको छ।

“अफर त मलाई १२ करोड रुपैयाँ हो। मलाई मास्टर थापाको कल आयो। ‘कम टु मुम्बई’ भन्यो। ‘आई कुड नट ह्याभ मनी’ भनेँ मैले। ‘आई सेन्ड यू टिकेट एण्ड के भन्छ यो घुम्ने पैसा’ भन्यो। ‘ओके यू क्यान सेन्ड मि’ भन्यो। ‘सेन्ड मि योर बैङ्क डिटेल’ भन्यो। ‘आई डोन्ट ह्याभ बैङ्क डिटेल’ भनेँ। हुन्डीमार्फत पैसा पठायो, नेपालमा अशोकसिंह नेपालीले पैसा पठायो। चुपचाप लिएर म हिजो राति ९ बजेसम्म मुम्बई आएँ। यहाँ बसेँ। आमा कसम रेकर्ड छैन नि सर,” उनले भनेका छन्।

उनले दाबी गरेजस्तै सन् २०२६ अक्टोबर १२ अर्थात् २०८३ असोज २६ गते साेमवार बेलुका ८ बजेर १३ मिनेटमा उनी त्रिभुवन विमानस्थल अध्यागमनमा प्रवेश गरेको देखिएको छ। उनले नेपाली नागरिकता (नागरिकता नम्बर २५१०१५-६०६९) प्रयोग गरेर प्रवेश गरेको विमानस्थल अध्यागमन रेकर्डले देखाएको छ। आश्चर्य त के भने उनको नाममा २०८३ साउनमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुर्जीमा सोही नागरिकता नम्बर रहेको छ। पक्राउ पुर्जी जारी भएका फरार अभियुक्त त्रिभुवन विमानस्थलबाट सहजै प्रवेश पाएको देखिन्छ।

पक्राउ पुर्जी जारी भएका अभियुक्त नेपालीकै दाबीलाई आधार मान्ने हो भने उनले भिआइपी कक्ष प्रयोग मात्रै गरेका थिएनन्, उनलाई विमानस्थलसम्म पुर्‍याउने कार्यमा विमानस्थलकै प्रहरी प्रमुख वसन्त रजौरे र विमानस्थलका सुबेदार मेजर युवराज केसीले सहयोग गरेका थिए। नेपालीले अडियो मै आफूलाई ती प्रहरी अधिकारीले सहयोग गरेको बताएका छन्।

दियो पोस्टको अनुसन्धानमा प्रहरी वरिष्ठ निरीक्षक सुबेदार मेजर युवराज केसीको मोबाइल नम्बर (९८५१०…७१७ र ९८४१…७३९) मा पटक-पटक फरार अभियुक्त किरण नेपालीको सम्पर्क भएको देखिएको छ। त्यस्तै विमानस्थलको ड्युटी अफिसर (९८५१२८७२३९) मा पटक-पटक नेपालीको सम्पर्क भएको देखिएको छ। उक्त समयमा यो मोबाइल नम्बर फिल्ड अफिसर डिएसपीले चलाएको खुलेको छ। उनलाई एसएसपी वसन्त रजौरेले खटाएको समेत खुलेको छ। नेपालीले पनि आफूलाई रजौरेले फोन गरेको र ड्युटी अफिसरले सम्पर्क गरेको भिडियोमा बताएका छन्। एसएसपी रजौरेले भने नेपालीलाई भिआइपी कक्षमा भेटेको खुलेको छ।

प्राप्त तथ्यअनुसार उनी एयर इन्डियाको फ्लाइट नम्बर एआई २१२ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोबर १२ अर्थात् असोज २६ गते बेलुका ९ बजेर २४ मिनेटमा टेकअफ भएको देखिएको छ। उक्त विमान काठमाडौँबाट उडेको १ घण्टा ४३ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको रेकर्डबाट देखिएको छ। सोही दिन खगेन्द्र सुनारले एक महिलालाई अश्लील गालीगलौज गर्दै गरेको अडियो नेपाली अनलाइनमा आइसकेको थियो।

पीडित भनिएकी महिलाका स्वकीय सचिवसमेत रहेका नेपालीले आफू कपडाबिना नै विमानस्थल पुगेको र मुम्बई पुगेपछि नेपालमा अडियो प्रसारण भएको चाल पाएको बताएका छन्।

“कपडा छैन। घरमा बस्ने ट्र्याक र जुत्ता लगाएर म हिँड्ने? म व्यापारी हो। दुई-तीन वटा देशमा कम्पनी छ। क्यानडामा समेत कम्पनी छ। नपत्याए सुरेशलाई सोध्दा पनि हुन्छ। म ८ बजेसम्म एवान क्याफेमा हुक्का तान्दै छु। ९ बजेर १० मिनेटको फ्लाइट छ। मलाई एसएसपी रजौरेको फोन आयो (हाल विमानस्थल प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे)। सर, मैले तपाईँलाई सर्ट, पाइन्ट, कोट रेडी गरिदिएको छु। तपाईँ एयरपोर्ट आउनुस् भन्नुभयो। त्यसपछि म हिँडे,” उनले भनेका छन्, “त्यसपछि सिधै मलाई एउटा सईले रिसिभ गर्‍यो र डाइरेक्ट भिआइपी कक्षमा पुर्‍यायो। गफ गर्दै छु, पेन्ट लगाउँदै छु, पाइन्ट पनि लगाउँदै छु। म कुन संसारमा छु? म साउथ फिल्मको हिरो हुँ भइरहेको छ। मा कसम क्या, मेरो पासपोर्ट कहाँ छ, कसले छाप लगायो, बोर्डिङ कसले गर्‍यो मलाई केही थाहा छैन। म कपडा फेर्दाफेर्दै सिधै गेट नम्बर ५ मा पुगेँ। त्यहाँ ‘सरजी आपका बिजनेस क्लास में ट्रान्सफर हुवा’ भनियो र बोर्डिङ गरेर ६ सी भनेर लेखिसकेपछि म प्लेनमा बसेँ। प्लेनमा बसेपछि मार्सल थापा भन्नेले एक लाख रुपैयाँ भारु ल्याएर दियो,” उनले सुनाएका छन्, “मार्सल थापा भनेको राज ठाकरेको खास मान्छे हो। म चिलसँग मुम्बई बसेँ। म आफैँ साउथ फिल्मको हिरो हुँ कि जस्तो लागेको थियो। मलाई किन भगाउँछ भनेको मैले यहाँ (मुम्बई) पुगेपछि न्युज हेरेर थाहा पाएँ। म ढाँटदिनँ, खगेन्द्र र नेपाल सरकारका अगाडि पनि भन्दिन्छु, मैले दुई पटक खगेन्द्रको मन्त्री खाएकै हुँ।”

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दिएको १२ करोड रुपैयाँ दुबईको खातामा आएको र दुई वटा अपार्टमेन्टसमेत खरिद गरेको दाबी गरेका छन्। यो दाबीमा कति सत्यता छ भन्ने विषय परीक्षणकै क्रममा छ। तर, उनको ट्राभल हिस्ट्रीले भने उनी दुबई पटक-पटक गएको देखिएको छ।

सन् २०२६ अगस्ट २१ मा उनी राहदानी नम्बर पीए १०९८८५७ प्रयोग गरेर त्रिभुवन विमानस्थल हुँदै दुबई गएको देखिएको छ।

२०२६ सेप्टेम्बर १९ अर्थात् यही असोज ३ गते उनी दुबईबाट नेपाल आएको समेत देखिएको छ।

त्यसपछि उनी अडियो प्रसारणकै समयमा नेपालबाट भारत पुगेको देखिएको हो।

उनले एउटा भिडियोमा खगेन्द्र र प्रहरी प्रमुख दानबहादुर कार्की मात्र होइन, गृहमन्त्री सुधन गुरुङलाई समेत एक मिनेटमै सक्ने प्रमाण आफूसँग रहेको बताएका थिए।

“मसँग प्रमाण छ, दुई मिनेटमा सिद्ध्याइदिन्छु। खगेन्द्रलाई सेकेन्डमा सकाएँ, त्यसलाई पनि सक्छु। लरेन्स विश्नोईको मान्छे हुँ। भोलि इन्डिया आउनु, म भेटाइदिन्छु। तिहाड जेलमा भेटाइदिन्छु, ‘आई लभ यू’ भन्न सकिनँ भने,” उनले भनेका छन्, “दाउदसँग म भेटाइदिन्छु। फैसल मोहम्मद भन्ने रसुवा जेलमा छ छैन बुझ्नु, म भेटाइदिन्छु।”

यता उनीसँग संवाद गर्ने नारायण भण्डारीले आफूलाई पाउरोटी बेच्ने दिनुस् भन्दै याचना गरेका छन्। त्यसपछि पुनः किरणले भनेका छन्:

“आईजीले रुँदै मेरो हात समाएको हो। आमा कसम! त्यो त मैले देख्ने बित्तिकै थाहा पाएँ। किनभने म थिएटर आर्टिस्ट हुँ नि सर। मैले नेपालमा १३ वटा फिल्म बनाएको छु। कसको औकात क्या हो, म बुझ्छु नि।”

उनीसँग संवाद गर्ने नारायणले केही मुद्दा मिलाउन आईजी दानबहादुरलाई भेटाउन प्रस्ताव गरेका छन्। जवाफमा उनले एक-दुई वटा होइन, सय वटा मुद्दा मिलाउन सकिने बताएका छन्।

“हाम्रो रेकर्ड त छैन नि? भोलि बसेर जाँड खाने, तपाईँको फोन तपाईँसँग हुँदैन। एसपीले लैजान्छ। मेरो फोन पनि एसपीले लैजान्छ। तीन भाइ रुममा चुकुल लगाएर झगडा गर्ने, हातहालाहाल गर्ने र म जिम्मा लिन्छु,” उनले भनेका छन्, “तपाईँमाथि तलमाथि भयो भने मलाई गोली चलाउन मिल्छ। भोलि आउँछु। इन्डियाको रअ (RAW) प्रमुख र म नेपाल आउँछु। मेरा मरेको बाबुको कसम। रअ प्रमुख र म आउँछु, बाँकी गेम म खेल्छु।”

त्यसपछि भण्डारीले तपाईँले दानबहादुरलाई आफ्नो बनाउनु भन्दै आग्रह गरेका छन्।

“आफ्नो बनाउनु? बनाउनु? बनिसक्यो। तपाईँको खुट्टामा समातेर ‘तँ बाच्छस्’ भन्दिउँ भोलि? समाएन भने मेरा नाम कुकुर? मसँग रुँदै हात जोडेपछि मैले सहयोग गरेको हुँ। आँखाबाट आँसु झार्‍यो के? तपाईँले खगेन्द्र बचा भने पनि बचाउँदिनँ, दानबहादुर बचा भने पनि बचाउँदिनँ,” उनले भनेका छन्।

प्रहरी महानिरीक्षक दानबहादुरले आफूलाई १२ करोड दिएको बताएका नेपालीको शङ्कास्पद ट्राभल हिस्ट्री र उनले दाबी गरेका कतिपय तथ्यहरू मिल्नुले खगेन्द्र सुनारको अडियो प्रकरणमा प्रहरी महानिरीक्षकको भूमिका शङ्कास्पद देखिएको छ। महानिरीक्षक कार्कीले यस विषयमा प्रतिक्रिया त दिएका छैनन्, तर उनको नाम लिएर बदनाम गर्ने पात्र किरण नेपालीले गरेको विवादास्पद दाबीलाई पुष्टि गर्ने गरी ट्राभल हिस्ट्री देखिएको छ।

उक्त अडियो रेकर्ड भएको समयमा म रक्सीको नशाका कारण लगभग अचेतजस्तै अवस्थामा थिएँ : किरण नेपाली
त्यस अवस्थामा मैले के–के बोलेँ भन्ने कुरा मलाई स्वयं पनि राम्रोसँग थाहा थिएन। मैले पटक–पटक कुरा गर्दा पनि मेरी दिदीबाट कुनै प्रतिक्रिया नआएपछि उहाँले सायद मैले नै त्यो अडियो बाहिर ल्याएको हुन सक्छु भनेर बुझ्नुभएको होला।
त्यसबेला म मानसिक रूपमा पनि निकै तनावमा थिएँ। आफ्नै साथी सम्झेर मनमा आएका र वास्तविकतामा नभएका केही कुराहरू समेत मैले आवेगमा बोलेँ। ती कुरा कुनै प्रमाणित तथ्य वा वास्तविक घटनाका रूपमा भन्न खोजिएको थिएन।
तर उहाँले मैले नशा र तनावको अवस्थामा बोलेका कुराहरूलाई निकै अतिरञ्जित रूपमा प्रस्तुत गर्नुभयो। त्यसैले उक्त अडियोलाई मेरो वास्तविक धारणा वा तथ्यका रूपमा नबुझिदिनुहुन अनुरोध गर्दछु। सबैलाई मैले नै सकाउन सक्ने मान्छे जस्तो कुरा गरेका थिय अगाडी उनिहरूले तेसैले मैले हो ल यसै उसै मै हो भनेर उडाय र बोलेको कुरा थिए मेरो उद्देश्य कसैलाई आरोप लगाउनु वा कुनै गलत सूचना फैलाउनु थिएन।
पुरा भिडियो हेरिदिनु होला !सत्यता यही हो ।