
काठमाडौँ । बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना देखिएको छ । उक्त प्रणालीको प्रभावले नेपालका धेरै स्थानमा वर्षा हुनुका साथै केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार अक्टोबर २९ देखि नोभेम्बर १ अर्थात् कात्तिक १२ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना छ । विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी रहेको उनले बताएका छन् ।
करिब एक महिनाअघि पनि यस्तै मौसमी प्रणालीका कारण नेपालमा भारी वर्षा भएको थियो । त्यतिबेला पूर्वानुमान गरिएको समयभन्दा एक दिनअघि नै वर्षा सुरु भएको थियो । त्यसैले यसपटक पनि वर्षा सुरु हुने समय, प्रभावित क्षेत्र र वर्षाको मात्रा फरक पर्न सक्ने डा.पोखरेलको भनाइ छ ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै उनले किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् । धान पाकिसकेको र काटेर सुकाई सुरक्षित रूपमा भित्र्याउन पर्याप्त समय रहेको अवस्थामा स्थानीय मौसमको अवस्था हेरेर मंगलबारअघि नै धान भित्र्याउने योजना बनाउन उनले किसानलाई आग्रह गरेका छन् ।
त्यस्तै, उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने सम्भावना रहेकाले पदयात्रा तथा अन्य प्रयोजनका लागि हिमाली क्षेत्रमा जानेहरूले नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा यात्रा योजना बनाउनुपर्ने उनले बताएका छन् ।
डा.पोखरेलका अनुसार यसपटक तल्लो वायुमण्डलमा बन्न सक्ने न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको छ । यी दुवै प्रणाली अनुकूल रूपमा सक्रिय भएमा ओसिलो हावा माथितिर उठ्ने प्रक्रिया बलियो बन्न सक्छ । यसले नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ ।
यद्यपि, यस्तो मौसमी अवस्था देखिँदैमा विपद् निश्चित हुन्छ भन्ने होइन । सम्भावित जोखिमलाई ध्यानमा राखेर मौसम प्रणालीको नियमित निगरानी गर्नु र समयमै पूर्वतयारी अपनाउनु आवश्यक रहेको उनले बताएका छन् ।
सम्भावित वर्षाले किसानको बालीमा पार्न सक्ने असरलाई ध्यानमा राखेर समयमै योजना बनाउन सहज होस् भन्ने उद्देश्यले आफूले नियमित मौसम पूर्वानुमान सार्वजनिक गरिरहेको पनि डा.पोखरेलले बताएका छन् । कुन जिल्लामा कति वर्षा हुन सक्छ भन्नेबारे हाल प्रारम्भिक संकेत देखिए पनि आगामी पूर्वानुमानमा प्रभावित क्षेत्र परिवर्तन हुन सक्ने उनले उल्लेख गरेका छन् ।