
काठमाडौँ । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । उक्त सेवाबाट कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना लाभान्वित भएका हुन् ।
प्रहरीका अनुसार निःशुल्क बस सेवा प्रयोग गर्नेमा ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन् । सर्वसाधारणको सहज आवागमन र यातायात सुविधालाई ध्यानमा राखेर प्रहरीले उक्त सेवा सञ्चालन गरेको थियो ।
प्रहरीले नक्सालबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै पुनः नक्सालमै फर्किने गरी तीनवटा रुट निर्धारण गरेको थियो ।
रुट नम्बर १ : नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किने व्यवस्था गरिएको थियो ।
रुट नम्बर २ : नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किने रुट निर्धारण गरिएको थियो ।
रुट नम्बर ३ : नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किने व्यवस्था गरिएको थियो ।
दसैँको समयमा सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवाबाट दुई दिनमा एक हजार ४०६ जनाले सुविधा लिएका छन् ।