
कास्की । कास्कीमा असोज महिनामा ५९ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटना बढी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोजमा भएका दुर्घटनामा ७९ वटा सवारीसाधन परेका थिए । दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ ।
प्रहरीका अनुसार तीव्र गति र चालकको लापरवाही सवारी दुर्घटनाका प्रमुख कारण हुन् । असोजमा तीव्र गतिका कारण २० वटा दुर्घटना भएका थिए । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका थिए ।
गत असोज २३ गते कास्कीमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । उक्त दुर्घटनासहित असोज महिनामा भएका अन्य साना दुर्घटनाले पनि दुर्घटनाको संख्या बढाएको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले असोज महिनामा सवारी नियम उल्लंघन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, असोज महिनामा कास्कीमा विभिन्न विपद्का घटनामा दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई पुरुषको ज्यान गएको हो । उक्त अवधिमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका थिए ।
अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीनवटा चौपाया मरेका छन् ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा प्रहरीले सातवटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट एक लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । उपयुक्त शीर्षक बनाउने