साउदी अरबमा ड्रोन आक्रमण हुँदा एक नेपालीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपाली र एक फिलिपिनी श्रमिकको मृत्यु भएको छ । आक्रमणमा एक भारतीय र एक पाकिस्तानी नागरिक समेत घाइते भएका छन् ।

साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै २१ अक्टोबरमा भएको आक्रमणमा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको जनाएको छ । त्यस्तै एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । ड्रोन आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको परिचय खुलाइएको छैन ।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी स्थानीय समय अनुसार २१ अक्टोबरको बिहान ड्रोन आक्रमण भएको थियो । ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेको थियो । ड्रोन आक्रमणको प्रयासलाई आकाशमै निस्तेज पारे पनि त्यसको भग्नावशेष तेल क्षेत्रमा खटिएको ठेकेदार कम्पनीको सवारीसाधनमा आइपुगेको थियो । आगोको झिल्कासहित खसेको भग्नावशेषले सवारीसाधनमा आगो लागेको जनाइएको छ । सोही आगलागीका आक्रमण दुई विदेशी श्रमिकको मृत्यु भएको जनाइएको छ ।

आगलागी तेल प्रशोधन केन्द्रको बाहिरतर्फ लागेको कारण तेलको प्रशोधन क्षेत्रमा कुनै असर नपरेको र सञ्चालनमा कुनै समस्या नभएको साउदी अरबले जनाएको छ ।

यसअघि बुधबार नै साउदी अरबको दम्मामस्थित राजा फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ड्रोन आक्रमण भएको थियो, जसमा एक जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएका छैनन् । साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले सो दिन धेरै ड्रोनहरू अवरोध गरेको बताएको छ, तर आन्दोलनरत हुथी समूहले भने सो दिन साउदी अरबमा आक्रमण नगरेको दाबी गरेको छ ।

साउदी अरबमा नेपाली श्रमिक ठुलो सङ्ख्यामा कार्यरत छन् । पछिल्लो समय यमनी हुथी समूह र साउदी अरबबिचको तनावपूर्ण स्थितिका कारण तेल क्षेत्र र विमानस्थलजस्ता संवेदनशील स्थलहरूमा आक्रमण भइरहेका छन् ।

सम्बन्धित खबर

सिफारिस