घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि बसपार्क तथा प्रमुख नाकामा यात्रुको चाप बढेको छ । पछिल्ला केही दिनयता उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ ।

उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेका छन् । घर फर्किने यात्रुको संख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा समेत चाप बढिरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढ्दै गएपछि ती नाकामा सवारीसाधनको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले व्यवस्थापनमा विशेष ध्यान दिएको छ ।