हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका-१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा सिमकोट गाउँपालिका-६ निवासी धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चुवाखोलाबाट दोजामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ त ०१५५ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त ट्याक्टर दुर्घटना हुँदा सहचालक सुनार टायरमुनि परेका थिए । टायरमा परेर गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।