भोटेकोशी बाढीको असर राजधानीसम्म : सामानको मूल्य आकासियो, दसैँको बजार सुनसान

रीता बुढाथोकी

काठमाडौँ । दशैँको चहलपहल सुरु हुनुपर्ने बेला काठमाडौँका व्यापारिक केन्द्रहरूमा भने पहिलेको जस्तो रौनक छैन । पसल खुलेका छन् ! सामान सजाइएका छन् ! व्यापारीहरु ग्राहकको पर्खाइमा छन् ! तर ग्राहकको आवतजावत न्यून छ ।

व्यापारीहरूका अनुसार यसको एउटा ठूलो कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका र ती नाकासम्म पुग्ने सडकमा आएको अवरोध हो । त्यसको प्रत्यक्ष असर राजधानीको बजारदेखि उपभोक्ताको भान्सासम्म परेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाका भन्सार, सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएपछि नाका ठप्प भयो । काठमाडौँसँग दूरीका हिसाबले छोटा मानिने रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका पनि अहिले सहज रूपमा सञ्चालन हुन सकेका छैनन् ।

तातोपानी नाका पहिरोको जोखिमका कारण प्रभावित छ । रसुवागढी बाढीले थला पारेपछि चीनसँगको स्थल व्यापारका लागि अर्को प्रमुख विकल्प पनि अवरुद्ध हुन पुग्यो ।

यसबीच चीनसँगको अर्को महत्वपूर्ण नाका कोरला हुँदै सामान भित्रिन थाले पनि मुस्ताङतर्फको सडकले साथ दिएन । लगातारको वर्षापछि बेनी-जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा नेपाल प्रवेश गरेका करिब दुई सय कन्टेनर र सयौँ विद्युतीय गाडी मुस्ताङमै रोकिएका छन् ।

यसरी चीनबाट सामान ल्याउने मुख्य नाका र ती नाकासम्म पुग्ने सडकमा एकपछि अर्को अवरोध सिर्जना हुँदा त्यसको असर अहिले काठमाडौंको बजारमा देखिन थालेको व्यापारीहरू बताउँछन् ।

‘दशैँ आयो, तर व्यापार आएन’
इन्द्रचोकमा पुस्तैनी तयारी कपडाको व्यापार गर्दै आएका रेनिश श्रेष्ठका लागि दशैँ व्यापारको सबैभन्दा व्यस्त समय हुने गर्थ्यो । यसपटक भने दशैँ नजिकिँदै गर्दा पनि पसलमा अपेक्षित चहलपहल छैन ।

‘बुवाहरूको पालादेखि नै हामीले कपडाको व्यवसाय गर्दै आएका हौँ । पहिले व्यापार राम्रै थियो,’ उनी भन्छन्, ‘कोभिड-१९ पछि व्यापार निरन्तर खस्किँदै गएको ब्यापारअहिलेसम्म पनि तङ्ग्रिन सकेको छैन ।’

दशैँलाई लक्षित गरेर कोरला नाकाबाट मगाइएका कपडा काठमाडौँ आइपुगेका छैनन् । त्यसैले श्रेष्ठले पुरानै स्टकका सामान बिक्री गरेर चाडपर्वको व्यापार धान्नुपर्ने अवस्था आएको बताए ।

उनले व्यापार सम्हालेदेखि कैयौँ पटक नाकाको अवरोध झेल्दै आएका छन् । चीनबाट रसुवागढी नाका हुँदै आयात गर्न लागिएका सामान गत भदौ १० को बाढीले बगाइदिएपछि उनले लाखौँको क्षति ब्यहोर्नु परेको बताउँछन् ।

‘काठमाडौँ ल्याउन लागिएको करिब १५ लाख रुपैयाँ बराबरको कपडा भदौ १० गतेको भोटेकोशी बाढीले बगायो । त्यस पछि नाका नै बन्द भयो । पछि कोरलाबाट सामान मगाएका थियौँ, त्यो पनि उतै रोकिएको छ,’ उनले भने ।

बाढीले सामान मात्रै बगाएन, उनको पसलका लागि सामान ल्याइदिने सहयोगीसमेत बेपत्ता भए । ‘बाढीमा मान्छेको जीवन नै रहेन । भन्सारमा हामीलाई सामानको व्यवस्थापन गर्ने धेरै सहयोगीहरु वेपत्ता भए,’ श्रेष्ठ भन्छन्, ‘मान्छेको मूल्यसँग सामानको मूल्य के तुलना हुन्छ र?’

नाका बन्द हुँदा सामान महँगियो
व्यापारीहरूका अनुसार नाका बन्द भएपछि सामानको आपूर्ति घटेको छ । आपूर्ति घट्दा ढुवानीदेखि भन्सारसम्मको लागत बढेको उनीहरूको भनाइ छ ।

त्यसको असर सामानको मूल्यमा परेको छ । श्रेष्ठका अनुसार अहिले बजारमा पुगेका कपडाको मूल्य गत वर्षका चाडपर्वको तुलनामा बढेको छ । मूल्य बढेपछि ग्राहक पनि पसलसम्म आएर सामान खरिद गर्न हिच्किचाउने गरेको उनको भनाई छ ।

‘सामान महँगो भएको छ । ग्राहकहरू मूल्य सुनेपछि फर्किन्छन्,’ उनी भन्छन् । व्यापारीका लागि समस्या एउटै छ-सामान नआए व्यापार हुँदैन, सामान महँगो भए ग्राहक किन्न तयार हुँदैनन् ।

‘ग्राहक पसलभित्रै आउँदैनन्’
न्युरोड-रञ्जनामा होलसेल पसल सञ्चालन गर्दै आएका दिलीप मिश्र पनि यसपटकको दशैँमा अपेक्षाअनुसार व्यापार हुन नसकेको बताउँछन् । सामान्य समयभन्दा दशैँ-तिहारजस्ता चाडपर्वमा व्यापार बढ्ने गरेको भए पनि यसपटक अवस्था फरक रहेको उनको अनुभव छ ।

‘ग्राहकहरू बाहिरबाटै सामानको मूल्य सोध्छन् र फर्किन्छन्,’ मिश्र भन्छन्, ‘दशैँमा व्यापार राम्रो होला भन्ने अपेक्षा थियो, तर सोँचेजस्तो भएन ।’

व्यापारीहरूका लागि चाडपर्वको मौसम आम्दानी बढाउने अवसर हो । तर लगातार कमजोर हुँदै गएको बजार, आयातमा आएको अवरोध र बढेको मूल्यले यो अवसरलाई संकटमा बदलिदिएको उनीहरूको गुनासो छ ।

व्यापारी मात्र होइन, उपभोक्ताको भान्सासम्म असर
नाकामा देखिएको अवरोधको असर कपडा र विद्युतीय सामानमा मात्रै सीमित छैन ।बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको उपभोक्ताको गुनासो छ । सीमित आम्दानीमा घरखर्च चलाउने परिवारका लागि अहिले बजार थप महँगो बन्दै गएको उनीहरू बताउँछन् ।

चाडपर्व नजिकिँदा सामान्यतया घरमा नयाँ कपडा, खाद्यान्न, उपहार तथा अन्य आवश्यक सामग्रीको माग बढ्छ । तर आम्दानी उही रहँदा बजारमा बढेको मूल्यले उपभोक्ताको बजेट थप खुम्चिएको छ ।

एकातिर व्यापारीसँग नयाँ सामान छैन । अर्कोतिर भएका सामानको मूल्य बढेको छ । उपभोक्तासँग खरिद गर्ने बजेट घट्दै गएको छ । यही चक्रले चाडपर्वको बजारलाई असहज बनाइरहेको छ ।

बाढीको असर राजधानीका बजारसम्म
भोटेकोशीमा आएको बाढीको पहिलो असर रसुवागढी क्षेत्रमा देखियो । संरचना भत्किए, व्यापारिक गतिविधि रोकिए, मानिस विस्थापित भए र करोडौँको आर्थिक क्षतिको अवस्था सिर्जना भयो । तर त्यसको असर त्यहीँ रोकिएन ।

चीनसँग जोडिएका नाका बन्द हुँदा आयात प्रभावित भयो । आयात प्रभावित हुँदा काठमाडौँका थोक बजारमा सामानको आपूर्ति घट्यो । आपूर्ति घट्दा मूल्य बढ्यो । मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमता प्रभावित भयो ।

यसरी हिमाली सीमाबाट सुरु भएको एउटा प्राकृतिक विपत्तिको असर अहिले राजधानीका व्यापारिक गल्ली हुँदै उपभोक्ताको घरसम्म आइपुगेको छ । इन्द्रचोक, न्युरोड, असन र रञ्जनाका पसलमा देखिएको सुनसानपन त्यही लामो आपूर्ति शृंखलाको एउटा अन्तिम दृश्य हो ।

व्यापारीहरू भन्छन्-पहिले कोभिडले व्यापार थला पार्‍यो, अहिले बाढी, नाका र सडकको अवरोधले थप समस्या थपेको छ । तर उपभोक्ता भने चाडपर्वको मुखमा बढ्दो महँगीको चपेटामा छन् ।

व्यापार सहज बनाउन नाका र सडक सञ्चालनमा ल्याउने प्रयाससँगै बजारमा बढेको मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने उपभोक्ताको माग छ ।

सरकारले बैकल्पिक व्यवस्थापनका लागि पहल नगर्ने हो भने सीमा नाकामा देखिएको अवरोधको मूल्य राजधानीका पसलदेखि सर्वसाधारणको भान्सासम्म अझ गहिरिन सक्छ ।

सम्बन्धित खबर

सिफारिस