पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत शुक्रबार भारतको कोलकाताबाट पक्राउ परेका अर्याललाई हवाईमार्गबाट काठमाडौँ ल्याइएको थियो । सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको हो ।

मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ ।

सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ । सो ल रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ ।

प्रहरीले २०८३ मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस