
काठमाडौँ । गत असोज २५ गते आइतबार हिमालयन बुलियन कम्पनी लिमिटेडले पत्रकार सम्मेलन गर्दै अब किस्ताबन्दीमै चाँदीमा लगानी गर्न सकिने र त्यसमा कुनै जर्ती नलाग्ने घोषणा गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको एचबीसी एप र त्यसैमार्फत चाँदीका बार वा सिक्का किन्न पाइने विषयमा कम्पनीले भ्रम फैलने गरी विज्ञापन गरेको पाइएको हो ।
कम्पनीले पत्रकार सम्मेलन गरी कुल मूल्यको पाँच प्रतिशत वा एक ग्राम चाँदीको मूल्य मात्रै तिरेर पनि चाँदीका सिक्का वा आधा किलोभन्दा बढीका चाँदीका बार किन्न पाइने व्यवस्था गरेको जानकारी गराएको थियो ।
कम्पनीले विज्ञापन गर्दा १० ग्राम, २० ग्राम, ५० ग्राम वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बार छनोट गर्नु सक्ने जनाएको थियो । कम्पनीले आधा किलो अर्थात् ५ सय ग्राम वा सोभन्दा माथिका चाँदीका बार बनाउँदा त्यसमा कुनै ज्याला नलाग्ने जनाएको थियो ।
कम्पनीले ५०० ग्रामभन्दा बढीका चाँदीका बार किन्दा कुनै ज्याला वा शुल्क नलाग्ने जनाएको थियो ।

तर मङ्सिर ८ गते मंगलबारकै दररेट हेर्दा भने हिमालयन बुलियनले आफूले गरेको वाचा विपरीत नै थप शुल्क लिएको पाइएको छ ।
मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको दररेट अनुसार चाँदी प्रति तोला ३ हजार १४५ रुपैयाँ र प्रति १० ग्राम २ हजार ६९६ रुपैयाँ पचास पैसा रहेको छ ।
यो मूल्यलाई आधार मान्दा चाँदीको मूल्य मंगलबार प्रति एक ग्राम २६९ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।
हिमालयन बुलियनले सार्वजनिक गरेको एचबीसी एपमा पनि मंगलबार चाँदीको मूल्य प्रति १० ग्राम २ हजार ६९६ रुपैयाँ ५० पैसा नै रहेको छ ।
यो मूल्यलाई आधार मान्दा आधा किलो अर्थात् ५०० ग्राम चाँदीको मूल्य १ लाख ३४ हजार ८०० रुपैयाँ हुनुपर्ने थियो ।
तर हिमालयन बुलियन कम्पनी लिमिटेडले मंगलबारका लागि चाँदीका आधा किलोको बार किन्ने हो भने १ लाख ३५ हजार ४९९ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

त्यसै गरी घोषित मूल्य अनुसार चाँदीको एक किलोको बार किन्ने हो भने २ लाख ६९ हजार ६०० रुपैयाँ कायम हुनुपर्नेमा २ लाख ७० हजार ९९८ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
यसरी हेर्दा कम्पनीले आफूले घोषणा गरेकै मूल्यमा कम्तीमा पनि शून्य दशमलव ५० प्रतिशत थप शुल्क लिइरहेको छ ।
विक्री गर्दा ४ प्रतिशत शुल्क लिने
हिमालयन बुलियन कम्पनी लिमिटेडले चाँदीका ५०० ग्रामभन्दा माथिका बार खरिद गर्दा कुनै पनि ज्याला वा जर्ती नलिने घोषणा गरे पनि उसले जर्ती र ज्याला लिइरहेको मात्रै छैन, उसले ती बारहरू विक्री गर्दा लाग्ने शुल्कका विषयमा भने भ्रम छरिरहेको छ ।
हिमालयन बुलियनले आफूबाट बेचेको चाँदीका बारहरू आफूले नै पुनः खरिद गर्नुपर्ने भएमा त्यसमा कम्तीमा ४ प्रतिशत कम मूल्य मात्रै पाइने गरेको छ । हिमालयन बुलियनबाट कसैले चाँदीका बार खरिद गरेर घरमा लगेमा वा उसकै भल्टमा राखेमा पनि पछि उक्त चाँदी विक्री गर्दाको अवस्थामा भने ४ प्रतिशत कम रकम मात्रै पाइने छ । उदाहरणका लागि यदि चाँदीको मूल्य प्रति तोला ग्रामको ४ हजार रुपैयाँ रहेको छ र तपाईँले बेच्नुपरेको अवस्थामा भने तपाईँलाई केवल ३ हजार ८४० रुपैयाँ मात्रै आउने छ ।

किनभने कम्पनीले आफूले नै राखेको चाँदी भए पनि फेरि बाई ब्याक अर्थात् किन्नुपरेको अवस्थामा भने तोलामै १६० रुपैयाँ कम दिनेछ ।
यदि उदाहरणका लागि गत वर्षको माघ १५ अर्थात् २०२६ को जनवरी २९ मा सबैभन्दा धेरै भएको ७ हजार ५०५ रुपैयाँ कायम भएको अवस्थामा तपाईँले चाँदी बेच्नु परेको वा भोलि ७ हजार ५०० प्रतितोला कायम भएको समयमा बेच्न चाहेमा तपाईँले पाउने मूल्य भनेको केवल ७ हजार २०० रुपैयाँ मात्रै हुनेछ । किनभने तपाईँले चाँदी बेच्न चाहेमा ४ प्रतिशत शुल्क कम दिइने भएकाले तपाईँको प्रति तोला ३०० रुपैयाँ काटिने छ र तपाईँले केवल ७ हजार २०० रुपैयाँ प्रति तोला मात्रै पाउनुहुनेछ ।
उपभोक्तालाई झुक्काइयो
हिमालयन बुलियन कम्पनीले आकर्षक अफरजस्तो देखाएर चाँदीका बारहरू किन्न आकर्षित गर्ने, चाँदीका बार पनि आफैसँग राख्ने र पछि विक्री गर्नुपरेको अवस्थामा पनि ४ प्रतिशत रकम कट्टा गरी दिने रणनीति अपनाइएको छ ।
हिमालयन बुलियनले विक्री गर्दा कति प्रतिशत काटिन्छ भनेर केही बताएको छैन, तर जब विक्री गर्ने बेला आउँछ, त्यति बेला पनि ४ प्रतिशत रकम कट्टा हुने गरी काम गरिरहेको छ । जबकि उक्त बार कुनै गहना होइनन् र त्यहाँ कुनै कट्टी वा वा क्षति हुने जर्ती हुँदैन ।
ठगीको आरोप, मुद्दा अदालतमा
हिमालयन बुलियनले ग्राहकसँग रकम असुल गरेर चाँदी नदिएको भन्दै पटक पटक ठगीको मुद्दा अदालतमा पुगेको छ । हिमालयन बुलियनविरुद्ध उपभोक्ता अदालतमा ४ वटा मुद्दा रहेको बुझिएको छ । आफूहरूले चाँदी किन्नका लागि रकम दिएको तर हिमालयन बुलियनले आफ्नो रकम लगेर अन्यत्र लगानी गरे पनि आफूलाई चाँदी नदिएको भन्दै उपभोक्ताले उपभोक्ता अदालतमा समेत मुद्दा दायर गरेका थिए ।
उपभोक्ताहरू किरण विश्वकर्मा, पूजन कार्की, पालना बास्कोटा, कौशल फुयाल लगायतले उपभोक्ता अदालत काठमाडौँमा मुद्दा दायर गरेका छन् ।
मुद्दा दायर गरेकामध्ये किरण विश्वकर्मासँग हिमालयन बुलियनले मिलापत्र गरेर आधा रकम तिरेको पाइएको छ ।

किरणका अनुसार हिमालय बुलियनसँग चाँदी खरिद गर्ने भनी रकम दिएको भए पनि हिमालयन बुलियनले चाँदीको मूल्य महँगिएको अवस्थामा चाँदी उपलब्ध नगराएको तर चाँदीको मूल्य सस्तिएपछि मात्रै चाँदी दिन खोजेको बताए । चाँदी महँगो भएको समयमा आफूलाई चाँदी नै उपलब्ध नगराइको तर चाँदी सस्तिएपछि त्यही सस्तो मूल्यमा चाँदी किनेर महँगोमा दिन खोजेको आरोप लगाए ।
कम्पनीले चाँदी खरिदका लागि रकम लिँदा १४ देखि २८ दिनभित्र चाँदी दिने भने पनि करिब ४५ दिनसम्म पनि चाँदी नदिएको तर चाँदीको मूल्य सस्तिएपछि त्यही सस्तो मूल्यमा किनेर दिन खोजेपछि आफू अदालत पुगेको बताए ।
हिमालयनले पहिले चाँदी खरिद गर्न खोज्दा बजार मूल्यमा समेत प्रिमियम थप गरेर रकम बुझाउनुपर्ने भनेको समेत आरोप लगाए ।
तर आफूमाथि अन्याय भएपछि आफू उपभोक्ता अदालतसम्म पुगेको र अदालतबाट मेलमिलापका लागि पठाइएपछि कम्पनीले आधा रकम तिर्ने भएपछि आफूले मिलापत्र गरेको बताए ।
अन्य पीडितहरू पूजन कार्की, पालना बास्कोटा, कौशल फुयाल लगायतको मुद्दा भने अझै पनि विचाराधीन अवस्थामै रहेको छ ।