टिकटकको ‘फ्यामिली पेयरिङ’ अपडेट : एकै ड्यासबोर्डबाट किशोरकिशोरीको गतिविधि बुझ्न सकिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । टिकटकले किशोरकिशोरीको डिजिटल गतिविधिबारे अभिभावकलाई थप जानकारी र उपयोगी सुझाव उपलब्ध गराउने उद्देश्यले आफ्नो ‘फ्यामिली पेयरिङ’ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ।

नयाँ अपडेटसँगै अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा बिताउने समय, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि तथा सार्वजनिक पोस्टबारे विस्तृत जानकारी एकै ड्यासबोर्डबाट प्राप्त गर्न सक्नेछन् । यसले किशोरकिशोरीको डिजिटल व्यवहार बुझ्न र उनीहरूको अनलाइन अनुभव सुरक्षित तथा सकारात्मक बनाउन आवश्यक निर्णय लिन सहयोग पुग्ने टिकटकले जनाएको छ।

नयाँ फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषय समेटिएका छन् । जसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक पोस्ट रहेका छन् । यी विवरणले अभिभावकलाई किशोरकिशोरीको डिजिटल गतिविधिमा आएको परिवर्तन पहिचान गर्न र आवश्यक सेटिङ मिलाउन सहज बनाउने कम्पनीको विश्वास छ ।

नयाँ अपडेटमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई प्राथमिकता दिइएको छ । अभिभावकले आफ्ना किशोरकिशोरीले औसतमा कति समय टिकटक प्रयोग गर्छन्, रातिको समयमा कति समय बिताउँछन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कुन सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् ।

त्यस्तै, अन्तरक्रियासम्बन्धी सुविधामार्फत किशोरकिशोरीले फलो गरेका र उनीहरूलाई फलो गर्ने अकाउन्टको संख्यामा आएको परिवर्तन, सम्पर्कमा रहेका अकाउन्ट तथा ब्लक गरेका अकाउन्टबारे जानकारी प्राप्त हुनेछ। आगामी महिनाहरूमा किशोरकिशोरीले टिकटकमा कसलाई मेसेज गरिरहेका छन् भन्ने जानकारी हेर्न सकिने सुविधा पनि ल्याउने कम्पनीको योजना छ ।

किशोरकिशोरीको कन्टेन्ट रुचिबारे जानकारी दिन उनीहरूले फलो गरेका भेरिफाइड क्रिएटरका केही भिडियोसमेत ड्यासबोर्डमा देखाइनेछ । यसबाट अभिभावकले आफ्ना सन्तान टिकटकमा कुन समुदाय, विषयवस्तु र सामग्रीबाट प्रभावित भइरहेका छन् भन्ने बुझ्न सक्नेछन् । टिकटकले परामर्श गरेका ८०५ भन्दा बढी अभिभावकले यस्तो सुविधा आवश्यक रहेको बताएका थिए ।

नयाँ सुविधामा सार्वजनिक पोस्टसम्बन्धी विवरण पनि समावेश गरिएको छ । यसमार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले सातामा सार्वजनिक रूपमा पोस्ट गरेका सामग्री र ती पोस्टमा प्राप्त भ्युजको संख्या हेर्न सक्नेछन् ।

टिकटकका अनुसार नयाँ फ्यामिली पेयरिङ सुविधा स्पष्ट र उपयोगी जानकारी उपलब्ध गराउने, अभिभावकलाई सुसूचित निर्णय लिन सहयोग गर्ने तथा किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने तीन सिद्धान्तमा आधारित छ । अभिभावकीय सुविधाले नियन्त्रणमा मात्र जोड नदिई अभिभावक र किशोरकिशोरीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्नुपर्ने मान्यताका आधारमा यो सुविधा विकास गरिएको हो । कम्पनीले परामर्श गरेका ७०५ भन्दा बढी अभिभावकले किशोरकिशोरीसँग संवाद सुरु गर्न सहयोग गर्ने टुल आवश्यक रहेको बताएका थिए ।

फ्यामिली पेयरिङ ड्यासबोर्डमा उपलब्ध जानकारी दैनिक अपडेट हुनेछन् । यसले अभिभावकलाई समयसँगै किशोरकिशोरीको डिजिटल गतिविधिमा आएको परिवर्तन बुझ्न र आवश्यकताअनुसार सेटिङ परिवर्तन गर्न सहज बनाउनेछ। नयाँ सुविधा वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिने भएकाले टिकटक एपमा पहुँच नभएका वा कम्प्युटरबाट प्रयोग गर्न रुचाउने अभिभावकलाई पनि सहज हुनेछ ।

यसैबीच, किशोरकिशोरीको सम्भावित हानिकारक कन्टेन्टसँगको सम्पर्कबारे चिन्तित अभिभावकलाई सहयोग गर्न टिकटकले विज्ञहरूसँगको सहकार्यमा नयाँ अलर्ट प्रणाली विकास गरिरहेको छ । बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध फ्याकल्टी डा। ड्यान रिडेनबर्गसँगको सहकार्यमा तयार भइरहेको उक्त सुविधाले किशोरकिशोरीले सम्भावित हानिकारक कन्टेन्ट खोज्ने प्रयास गरेको हुन सक्ने जानकारी अभिभावकलाई दिनेछ।

अलर्टसँगै यस्तो अवस्थामा कसरी अघि बढ्ने, किशोरकिशोरीको अवस्था कसरी बुझ्ने र उनीहरूसँग सहयोगी संवाद कसरी सुरु गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव पनि उपलब्ध गराइनेछ । यो सुविधा हाल विकासकै चरणमा रहेको छ ।

युवाहरूलाई सुरक्षित डिजिटल वातावरण उपलब्ध गराउने उद्देश्यले टिकटकले शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञहरूसँगको परामर्शमा ‘एजुकेटर्स गाइड’ पनि सार्वजनिक गरेको छ । यसमा टिकटक कसरी सञ्चालन हुन्छ भन्ने व्यावहारिक जानकारी, कक्षाकोठामा प्रयोग गर्न सकिने स्रोत तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया लिटेरेसीबारे छलफल गर्न आवश्यक मार्गदर्शन समेटिएको छ।

विद्यालय समुदायका लागि आवश्यक जानकारी, टुल्स र मार्गदर्शन समेटिएको उक्त गाइडमा आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्रीसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । एजुकेटर्स गाइड तथा युवाहरूको सुरक्षासम्बन्धी थप स्रोत टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ ।

टिकटकले किशोरकिशोरी, परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न आवश्यक टुल्स, फिचर तथा स्रोत विकासलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

सिफारिस