
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मङ्सिर १६ गते हुने तय गरिएको छ ।
राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनुअघि नै खेल प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिका अनुसार आजदेखि विभिन्न ६ खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन् ।
आज सुरु हुने खेलमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी समावेश छन् । यी खेल विधालाई छ खेलका रूपमा वर्गीकरण गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३२ खेल समावेश गरिएका छन् । तीमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालिकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन हुनेछन् ।
सुर्खेतमा एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, तेक्वान्दो, बक्सिङ, ह्यान्डबल, बास्केटबल, भारोत्तोलन, रग्बी, साइक्लिङलगायतका खेल सञ्चालन हुनेछन् । त्यस्तै, सल्यानमा जुडो र कुस्ती, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल तथा पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ ।
लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र खो-खोका खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । यसपटक कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक रहेका छन् ।
दशौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ, रजत पदक विजेताले १५ हजार रुपैयाँ र कांस्य पदक विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, टिम स्पर्धामा स्वर्ण पदक विजेता टोलीले १५ हजार रुपैयाँ, रजत विजेताले १० हजार रुपैयाँ र कांस्य विजेताले आठ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । प्रतियोगिता मङ्सिर २७ गते समापन गर्ने कार्यतालिका छ ।