नेपाल-भारत उच्चस्तरीय भेटवार्तामा के के भयो ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा करिब १०० मिनेट उच्चस्तरीय वार्ता तथा संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिक बनाउने पहल गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने निर्णय गरेका छन्।

करिब १०० मिनेट वार्ता, उच्चस्तरीय सहभागिता
दुई प्रधानमन्त्रीबीच भएको वार्तामा दुवै मुलुकका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा एस जयशंकर, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत वरिष्ठ अधिकारीहरू सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे सहभागी थिए।

तल्लो अरुणको शिलान्यास र ऊर्जा सहकार्यमा जोड
संयुक्त पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शाह र समकक्षी मोदीले डिजिटल माध्यमबाट संयुक्त रूपमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना (कोशी प्रदेश) को शिलान्यास समेत गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले नेपालका नदीहरूमा स्वच्छ ऊर्जाको अपार सम्भावना रहेको उल्लेख गर्दै भारतको विशाल ऊर्जा बजारले त्यसलाई नेपालको आर्थिक समृद्धिको बलियो आधार बनाउन सक्ने बताए। उनले लोअर अरुणको शिलान्याससँगै अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता भएको बताए।

मोदीको प्रशंसा र सहकार्यको प्रतिबद्धता
प्रधानमन्त्री मोदीले आर्थिक सहायतासहित अन्य विषयमा भारत नेपालप्रति उदार रहेको बताउँदै प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालको भविष्य उज्वल रहेको प्रशंसा गरे। युएन महासभाको सम्बोधनकै क्रममा शाहको दूरदर्शीताको झलक देखेको स्मरण गर्दै मोदीले नेपालको जनताको जनादेशले नयाँ पिँढीको आशालाई प्रतिबिम्बित गरेको बताए। भारत–नेपाल सम्बन्ध छिमेकीको मात्र नभई एक–अर्काको प्रगतिको साथी र अप्ठेरोको साहारा भएको उनको भनाइ थियो।

साथै प्रधानमन्त्री शाहले आपसी सम्मान, अटल विश्वास र अटुट सद्भावलाई सम्बन्धको आधारशिला बताउँदै दुवै देशबीच गहिरो आत्मीयता रहेको बताए । प्राकृतिक विपद् र कठिन घडीमा भारतले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गरे।

शाहले नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए तर मोदीको भाषणमा हवाई सम्पर्कबारे उल्लेख गरेनन् । साथै, नेपालमा स्थापना हुने आइआइटीमा भारतीय विद्यार्थी अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्ने, रेल कनेक्टिभिटीको उद्घाटनले ऐतिहासिक बन्धनलाई जीवन्त बनाएको, संयुक्त दृष्टिकोण दस्ताबेज र संयुक्त प्रेस विज्ञप्ति ल्याइने उनले बताए। हिमालय र गङ्गामा मिसिने नदीहरूको प्रसङ्ग जोड्दै शाहले जलवायु परिवर्तनका चुनौती सामना गर्न सामूहिक सहकार्य अपरिहार्य रहेको बताए। उनले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी र लुम्बिनी भ्रमणका लागि आमन्त्रण गरे।

स्वास्थ्य र सहरी विकास एमओयू तथा ८ समझदारी
स्वास्थ्य तथा औषधिजन्य सहकार्य र दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (एमओयू) आदानप्रदान हुने जनाइएको छ। नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबीच स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ भने दिगो सहरी विकासमा प्राविधिक सहकार्यको समझदारी भएको छ। ती समझदारी पत्रमा नेपालका मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतका विदेश सचिव विक्रम मिस्रीले हस्ताक्षर तथा आदानप्रदान गर्नेछन् ।

सम्बन्धित खबर