
काठमाडौँ । हकर्मीलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन् । आफूलाई ‘सञ्चारको सइ’ बताउँदै हराएका छोराको खोजीका लागि जानकारी गराउन फोन गरेका सहकर्मी हवल्दार सुरेश प्रसाद यादवलाई उनले अभद्र व्यवहार र गालीगलौज गरेका थिए।
घटनाको अडियो बाहिरिएसँगै चौतर्फी आलोचना भएपछि रौतहट प्रहरीले महतोमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएलगत्तै रौतहट प्रहरीले महतो र पीडित हवल्दार यादव दुवैलाई थप छानबिन तथा अनुसन्धानका लागि जनकपुर पठाएको हो।
नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर-९ स्थित डुमरिया इलाका प्रहरी कार्यालय (सुरक्षा बेस) मा खटिएका हवल्दार सुरेश प्रसाद यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए । प्रदेश प्रहरीका अनुसार हराएका ती किशोर पछिल्लो समय सम्पर्कमा आइसकेका छन् ।
छोराको खोजी र उद्धारका लागि जानकारी गराउन हवल्दार यादवले शुक्रबार जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा फोन गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा टिपाउन भनिएपछि उनले गौरस्थित सञ्चार शाखामा सम्पर्क गरेका थिए ।
सार्वजनिक भएको अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । जवाफमा महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नभनेको र बोल्ने शैली नमिलेको भन्दै हप्काएको सुनिन्छ । आफ्नो दर्जा बताउन नमिल्ने जिकिर गर्दै महतोले सहकर्मी यादवलाई अपमानजनक गालीगलौज गरेका थिए । तर, यादवले आफूले कुनै अभद्र कुरा नगरेको र छोरा हराएको पीडामा टिपोट गराउन खोज्दा उल्टै गाली गरिएको बताएका थिए ।
उक्त संवादको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले सञ्चार शाखा र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीचको संवादमा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।