
काठमाडौं- दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।
त्यसअघि राष्ट्रपति भवनमा शाहलाई भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। त्यस अवसरमा मोदीले शाहलाई न्यानो स्वागत गरे र दुई नेताले अंकमाल गरे।
त्यसपछि शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए। त्यहाँ आगन्तुक पुस्तिकामा उनले गान्धीको जीवनले सत्यको शक्ति देखाएको लेखे। बुद्धको जन्मभूमिबाट आएको स्मरण गर्दै गान्धीको विरासतमा करुणा नै सबैभन्दा ठूलो शक्ति र साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवामा हुन्छ भन्ने देखेको उनले उल्लेख गरे। नेपाल र भारतबीचको सम्बन्ध साझा भूगोलमात्र नभई आस्था, आत्मीयता र मित्रताले बाँधिएको भन्दै यसलाई इमान्दारिता, आपसी सम्मान र विश्वासका साथ अघि बढाउने प्रतिबद्धता पनि उनले दोहोर्याए।
हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ।
दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन हुने कार्यक्रम छ। त्यसपछि १:१५ बजे मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन्।
दिउँसो ३:१५ बजे शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।
सबै औपचारिक कार्यक्रम सकेर उनी साँझ ४:५० बजे नयाँ दिल्लीबाट प्रस्थान गर्नेछन् र ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।










