नेपाल लगानीका लागि उर्वर ठाउँ, निर्धक्क लगानी गर्नुहोस्: अर्थमन्त्री वाग्ले

दियोपोस्ट संवाददाता

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका उनले सूचना प्रविधि, जलविद्युत् र सम्पर्क सञ्जालजस्ता क्षेत्रमा नयाँ लगानी गर्न र पहिले नै लगानी गरिसकेकाहरूले त्यसलाई विस्तार गर्न आग्रह गरेका हुन्।

होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्ड टेबल’ लाई सम्बोधन गर्दै उनले नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र प्रशस्त सम्भावना भएको मुलुक रहेको बताए।

अर्थमन्त्री वाग्लेका अनुसार वैदेशिक लगानी बढाउन सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको छ। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजाने प्रक्रिया कानुनी रूपमै सहज बनाउन सरकारले विशेष पहल गरिरहेको उनले जानकारी दिए।

कार्यक्रममा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीले पनि सम्बोधन गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण टोलीमा आएका नेपाली उद्योगी–व्यवसायीसँगै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो। दुई देशका निजी क्षेत्रबीच लगानी र व्यावसायिक सहकार्यको सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

सम्बन्धित खबर