
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्। उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
नेपालका प्रधानमन्त्रीको स्वागतमा भारतका प्रधानमन्त्री, विदेशमन्त्री वा कम्तीमा क्याबिनेट मन्त्री नै विमानस्थल पुग्नुपर्ने अपेक्षा राखिएको भएपनि प्रधानमन्त्री बालेनको स्वागतमा पनि राज्यमन्त्री पठाएर भारतले पुरानै अभ्यास देहोर्याएको छ ।

के भारतले अन्य देशका प्रधानमन्त्रीलाई स्वागत गर्न पनि राज्यमन्त्री नै पठाउने गर्छ? यसअघि नेपालका प्रधानमन्त्री भारत जाँदा कसले स्वागत गरेका थिए? भारतीय प्रधानमन्त्री नेपाल आउँदा नेपालले कस्तो स्वागत गरेको थियो? भन्ने पैश्न समेत उठेको छ ।
विगतमा कसले कसलाई स्वागत गरे ?
विगतका घटनाक्रम हेर्दा भारतले नेपाली प्रधानमन्त्रीको स्वागतमा एउटै तहका अधिकारी पठाउने गरेको देखिँदैन । कतिपय अवस्थामा भारतका प्रधानमन्त्री स्वयं विमानस्थल पुगेका छन् भने कतिपय अवस्थामा विदेशमन्त्री, गृहमन्त्री, राज्यमन्त्री वा वरिष्ठ कूटनीतिक अधिकारीले स्वागत गरेका छन् ।
सन् २००६ जुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह स्वयं विमानस्थलमा स्वागत गर्न पुगेका थिए । कोइराला प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत पुगेका थिए । भारतले त्यसबेला उनलाई दिएको स्वागतलाई विशेष कूटनीतिक महत्त्वका रूपमा हेरिएको थियो ।

त्यसपछि सन् २००८ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका गृहराज्यमन्त्री शकील अहमद र विदेश सचिव शिवशंकर मेननले विमानस्थलमा स्वागत गरेका थिए ।
सन् २००९ अगस्टमा प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन् । त्यसैगरी २०११ अक्टोबरमा प्रधानमन्त्री बाबुराम भट्टराई भारत जाँदा भारतको विदेश मन्त्रालयकी चिफ अफ प्रोटोकल रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसाद विमानस्थलमा उपस्थित थिए ।
तर, सन् २०१६ र १७ मा भने भारतले नेपाली प्रधानमन्त्रीलाई उच्च राजनीतिक तहबाट स्वागत गरेको देखिन्छ ।
सन् २०१६ फेब्रुअरीमा प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा जाँदा तत्कालीन विदेशमन्त्री सुषमा स्वराज विमानस्थल पुगेकी थिइन् ।

त्यही वर्ष सेप्टेम्बरमा भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई पनि सुषमा स्वराजले नै स्वागत गरेकी थिइन् । सन् २०१७ अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदा पनि विदेशमन्त्री स्वराज नै विमानस्थलमा स्वागतका लागि पुगेकी थिइन् ।

त्यसपछि सन् २०१८ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा तत्कालीन गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । उनी भारत सरकारका क्याबिनेट मन्त्री थिए ।

सन् २०२२ अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदा तत्कालीन पर्यटन तथा रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

त्यसैगरी सन् २०२३ मेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन् ।

यी घटनाक्रमले बालेनको स्वागतका लागि भारतले राज्यमन्त्री पठाएको घटना पहिलो भने होइन । तर, भारतले नेपाली प्रधानमन्त्रीलाई प्रधानमन्त्री, विदेशमन्त्री वा क्याबिनेट मन्त्रीबाट स्वागत गरेका उदाहरण पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
भारतले अन्य देशका प्रधानमन्त्रीको स्वागतमा पनि एउटै तहका अधिकारी पठाउने गरेको छैन । भ्रमणको प्रकृति, द्विपक्षीय सम्बन्ध, राजनीतिक प्राथमिकता, भ्रमणको उद्देश्य र सम्बन्धित समयमा वरिष्ठ नेताहरूको कार्यतालिकाका आधारमा स्वागतको जिम्मेवारी फरक अधिकारीलाई दिइने गरेको पाइन्छ ।
भारतको विदेश मन्त्रालयअन्तर्गतको प्रोटोकल विभागले विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको भ्रमण व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।
मोदी नेपाल आउँदा उच्चस्तरीय स्वागत
यता, नेपालले भने भारतीय प्रधानमन्त्रीको स्वागतमा भने उच्च राजनीतिक तहको उपस्थिति गराएको इतिहास छ । सन् २०१४ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १७ वर्षपछि द्विपक्षीय भ्रमणका लागि नेपाल आउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए ।
भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले सन् २०१४ अगस्ट ६ मा भारतीय संसद्मा दिएको वक्तव्यमा पनि प्रधानमन्त्री सुशील कोइरालाले विशेष सद्भावस्वरूप मोदीलाई विमानस्थलमै स्वागत गरेको उल्लेख गरेकी थिइन् ।

त्यसपछि सन् २०१८ मेमा भारतीय प्रधानमन्त्री मोदी नेपालको राजकीय भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले औपचारिक स्वागत गरेको थियो । मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरसहित स्वागत गरिएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
सन् २०२२ मे १६ मा बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं हेलिप्याडमा पुगेर स्वागत गरेका थिए । देउवासँगै उनकी पत्नी डा.आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायतका मन्त्रीहरू पनि स्वागतमा उपस्थित थिए ।

यी उदाहरणले नेपालले भारतीय प्रधानमन्त्रीको स्वागतमा उच्च राजनीतिक तहको उपस्थिति गराउने गरेको देखाउँछन् । यसपटकको स्वागतलाई विगतका उच्चस्तरीय स्वागतसँग तुलना गर्दा भारतले तुलनात्मक रूपमा तल्लो तहको प्रतिनिधि पठाएको तथ्य स्पष्ट देखिन्छ ।
प्रधानमन्त्री मोदीसँगको वार्तामा नेपालको हवाई प्रवेशमार्ग, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा आर्थिक सहयोगका विषयमा कस्तो उपलब्धि हासिल हुन्छ भन्ने कुराले यो भ्रमणको वास्तविक महत्त्व निर्धारण गर्नेछ ।