प्रधानमन्त्री बालेन दुई दिने भारतको राजकीय भ्रमणका लागि प्रस्थान, यस्तो छ दुई दिने कार्यक्रम

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेका हुन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको पहिलो औपचारिक भारत भ्रमण हो ।

उनी भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यहाँ भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले उनलाई स्वागत गर्ने कार्यक्रम छ ।

दिल्ली पुगेपछि प्रधानमन्त्री शाह होटलमा जानेछन् । भ्रमणको पहिलो दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उक्त भेट ताजमहल होटलमा हुनेछ ।

नेपालतर्फबाट सार्वजनिक गरिएको भ्रमण विवरणमा आइतबार साँझ नेपाल–भारत बिजनेस फोरममा सहभागी हुने र त्यसपछि रात्रिभोजमा सहभागी हुने कार्यक्रमसमेत उल्लेख छ ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहका महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुनेछन् । सोमबार बिहान १० बजे भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहयोग तथा आपसी हितका क्षेत्रबारे छलफल हुनेछ ।

त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दिउँसो १२ः२५ बजे (भारतीय समय) दुई देशबीच समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा विभिन्न सहयोग परियोजनासम्बन्धी समझदारी तथा सम्झौतामा हस्ताक्षर वा आदानप्रदान हुने अपेक्षा गरिएको छ । नेपालतर्फ उपलब्ध भ्रमण विवरणमा विभिन्न परियोजनाको भर्चुअल उद्घाटनको कार्यक्रमसमेत समावेश छ ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । सोमबार दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको शिष्टाचार भेटवार्ता हुनेछ ।

भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः५० बजे (भारतीय समय) नयाँदिल्लीबाट स्वदेश फर्किनेछन् । उपलब्ध भ्रमण विवरणअनुसार उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको यो भ्रमणले विगतका सहमति कार्यान्वयन, नयाँ आर्थिक अवसरको खोजी र द्विपक्षीय सम्बन्धलाई परिणाममुखी बनाउने दिशामा कस्तो उपलब्धि हासिल गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित खबर

सिफारिस