
काठमाडौं । दुई दिने राजकीय भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुगेका छन्। उनी सवार नेपाल एयरलाइन्सको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको छ ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमा गएका छन्। आज साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरले त्यहीँ उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यसबाहेक आजका लागि अन्य औपचारिक कार्यक्रम तय भएको छैन।

भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार छन्। निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछन्।
भोलिको कार्यक्रम
भोलिपल्ट अर्थात् मंसिर ७ गते शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार (७ मंसिर) प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा आर्थिक सहकार्य बढाउने विषय उठ्नेछ। सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास पनि कार्यक्रममा समावेश छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ। त्यसपछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले यो भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने र प्राथमिकताका क्षेत्रमा सहकार्य बढ्ने अपेक्षा गरिएको छ।