
काठमाडौं।- प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणमा जानुअघि नेपाली सेनाले दिने ‘गार्ड अफ अनर’ नलिने भएका छन्। आइतबार पौने २ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको उनले यो सम्मान नलिने भएका हुन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरका लागि तयारी नगरिएको जानकारी दिए। “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गार्ड अफ अनरका लागि तयारी गरिएको छैन,” उनले भने।
शाह प्रधानमन्त्री भएयता विदेश भ्रमणमा जाँदा यस्तो सम्मान लिएका छैनन्। यसअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क जानुअघि पनि उनले गार्ड अफ अनर लिएका थिएनन्।
गार्ड अफ अनर भनेको विशिष्ट पाहुना, राष्ट्राध्यक्ष, सरकार प्रमुख वा उच्च कूटनीतिक अधिकारीहरूको सम्मानमा सैनिक वा सुरक्षा फौजको विशेष टुकडीले दिने औपचारिक सलामी हो। यो कूटनीतिक शिष्टाचार र आपसी सम्मान प्रकट गर्ने परम्परा हो।
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ विमानस्थल पुगेका थिए। उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
भ्रमणमा प्रधानमन्त्रीसहित ३५ सदस्यीय टोली भारत गएको छ।