सुरुङ मार्गको भीड कम गर्न सुरु भयो एन ट्याग, कुमारी बैंकले समेत सुरु गर्‍यो सेवा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गमा टोल ट्याक्स तिर्ने झन्झट हटाउन एन ट्याग सेवा सुरु गरिएको छ । कुमारी बैंकले सुरुङमार्गमा प्रवेश गर्नका लागि विद्युतीय टोल भुक्तानी प्रणाली ‘एन ट्याग’ को बिक्री वितरण सुरु गरेको हो ।

सुरुङ मार्गमा प्रवेश गर्ने क्रममा तिर्नु बुझाउनुपर्ने टोल ट्याक्सको रकम स्वचालितरुपमा तिर्ने व्यवस्था गर्न एन-ट्यागको सेवा सुरु गरिएको हो । एन ट्याग प्राप्त भएपछि त्यहाँ प्रवेश गर्दा लाग्ने शुल्क डिजिटल रिडरबाट आफै काटिने व्यवस्था सुरु गरिएको हो ।

के हो एन-ट्याग ?

एन-ट्याग एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारी धनीलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल ट्याक्स भुक्तानी गर्न सक्षम बनाउँछ । यस प्रणालीअन्तर्गत एन-ट्यागको स्टिकर सवारीसाधनमा टाँसेपछि स्वतः रकम कट्टा भई सुरुङ मार्ग हुँदै यात्रा गर्न सकिन्छ । यसबाट टोल अर्थात् प्रवेश द्वारमा हुने भिडभाड र लामो लाइनको झन्झट कम गर्दै यात्राको समय पनि बचत हुनेछ ।

बारम्बार सुरुङ मार्गको यात्रा गर्नुपर्ने ग्राहकले एन-ट्याग सेवा लिन चाहेमा सवारीसाधनको ब्लु बुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बर लिई नजिकको कुमारी बैंकको शाखामा जान सकिने बैंकले जनाएको छ । यी कागजात दिएर फारम भरेपछि बैंकले एन-ट्यागको स्टिकर उपलब्ध गराउने उक्त स्टिकर सवारीसाधनमा टाँसेपछि अटोमेटिक रिड गरेर प्रवेशद्वारको गेट खुल्नेछ ।

कुमारी बैंकले समेत सुरु गरेको एन-ट्याग सेवासँगै अब सुरुङ मार्गको प्रवेशद्वारमा लाइन लागेर पैसा तिर्नुपर्ने झन्झट सकिने जनाएको छ । बैंकले डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै सम्पूर्ण सवारी धनीहरूलाई ‘टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न एन-ट्याग जडान गर्नसमेत आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस