
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन् । साथै, प्रतियोगिताको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सहभागी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार ती क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ । उनले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

उनलेले सार्वजनिक गरेको विवरणअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला तोकिएका छन् । त्यसैगरी सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान र पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला रहने उनले उल्लेख गरेका छन् । साथै, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको उनले बताएका छन् ।
अन्त्यमा, प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् ।