
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई वर्तमान सरकारले निरन्तरता नदिएको कांग्रेसको आरोप छ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिँदै भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप प्रगाढ हुनुपर्ने र राष्ट्रिय हित प्रवर्द्धन हुनुपर्ने उल्लेख गरिएको छ।
कांग्रेसले भारतसँगको द्विपक्षीय सहकार्यका विषयमा सरकारलाई रचनात्मक सुझाव दिन गत बुधबार विषयविज्ञहरूसहित आन्तरिक विमर्शसमेत गरेको थियो । जसमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्याबारे छलफल भएको थियो। तर, सरकारले सुझाव नमागेकाले औपचारिक सुझाव अघि नसारिएको शर्माले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भ्रमणमा जान लागेकाले साझा समझदारी आवश्यक रहेको शर्माको भनाइ छ।
प्रधानमन्त्री शाहको भारत भ्रमण कार्यतालिका
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारतको दुईदिने राजकीय भ्रमणमा प्रस्थान गर्ने जानकारी दिएको छ।
शाहले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकर लगाएतलाई भेट्ने कार्यक्रम रहेको छ ।

