दाङको होटलबाट एनपीएल सट्टेबाजीको कारोबार गर्दै आएका भारतीयसहित पाँच जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार भारतीय र एक नेपाली नागरिक छन् ।

लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एन्ड लजमा बसेर अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार होटलको तेस्रो तलाका २०३ र २०४ नम्बर कोठा भाडामा लिएर सट्टेबाजी सञ्चालन भइरहेको सूचनापछि विशेष प्रहरी टोलीले शुक्रबार साँझ ७ः३० बजे छापा मारेको थियो । छापा मार्ने क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारतीय नागरिकमा मध्यप्रदेश भोपालका २४ वर्षीय जसवन्त सिंह तोमर, २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द रहेका छन् । नेपाली नागरिकतर्फ डोटीको दिपायल सिलगढी नगरपालिका-३ का ३२ वर्षीय सागर राना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूले ‘कुश ७७७’ लगायतका अनलाइन बेटिङ प्लेटफर्म प्रयोग गरी खेलकुद प्रतियोगितामा सट्टेबाजीको कारोबार गर्दै आएका थिए ।

सट्टेबाजी सञ्चालनमा प्रयोग गरिएको दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी कुल १८ वटा विद्युतीय उपकरण प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद उपकरणसहित इलाका प्रहरी कार्यालय लमहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।