
दैलेख । दैलेखमा बन्चरो प्रहार गरी श्रीमतीसहित तीन सन्तानलाई घाइते बनाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ पानीखोलामा समान्य घरायसी विवादका क्रममा बन्चरो प्रहार गरी श्रीमतीसहित तीन सन्तानलाई घाइते बनाएका ३८ वर्षका अम्मर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सलामीले दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गर्दा ३५ वर्षकी श्रीमती मनिषा सलामी मगर, छोरा वर्ष १२ का तपेन्द्र सलामी, वर्ष ६ का मिलन सलामी र छोरी वर्ष ३ की करिस्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत नगर अस्पताल दुल्लु, दैलेखतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटना गराउने अम्मर सलामी मगर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।