
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका दुवै टोली आज उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । लुम्बिनी तेस्रो संस्करणको उपाधि समेत आफ्नो नाममा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरबाट फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।
यता, दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । लिग चरणमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुग्ने टोली बनेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् । आजको फाइनलमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ ।