भारतमा मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० जना अस्पताल भर्ना

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतको मणिपुर राज्यस्थित चन्देल जिल्लामा शंकास्पद विषाक्त नक्कली मदिरा सेवन गर्दा ११ जनाको मृत्यु भएको छ भने १८० जना बिरामी भएका छन् ।

घटनालगत्तै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै नागरिकलाई घरेलु तथा शंकास्पद मदिरा सेवन नगर्न सार्वजनिक अपिल जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएको छ ।

अस्पताल भर्ना भएका १८० जना नै चन्देल जिल्लाका विभिन्न गाउँका बासिन्दा हुन् । उनीहरूको इम्फालस्थित शिजा अस्पताल तथा अनुसन्धान संस्थान र बाबिना अस्पतालमा उपचार भइरहेको छ  । प्रारम्भिक प्रहरी अनुसन्धानका क्रममा चन्देलका प्रहरी अधीक्षकले उक्त विषाक्त मदिरा छिमेकी काक्चिङ जिल्लाको सुग्नु क्षेत्रबाट ल्याइएको जानकारी जिल्ला उपायुक्त ९डीसी० लाई दिएका छन् ।

मुख्यमन्त्रीको निरीक्षण र सरकारी कदम
मणिपुरका मुख्यमन्त्री युमनम खेमचन्द सिंहले शुक्रबार इम्फालका दुवै अस्पतालमा पुगी उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घटनाको गहिरो अनुसन्धान गरी मिसावटयुक्त मदिरा उत्पादन तथा बिक्रीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । उनले दोषीहरूलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रशासनको सार्वजनिक अपिल तथा स्वास्थ्य सतर्कता
चन्देलका उपायुक्त (डीसी) ले अर्को सूचना जारी नभएसम्म स्थानीय स्तरमा उत्पादन गरिएका रक्सी तथा शंकास्पद स्रोतबाट आएका मादक पदार्थ सेवन नगर्न कडा सल्लाह जारी गरेका छन् ।