
सुनसरी । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो भने दुहबीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।
गएराति पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को.२२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक १९ वर्षीय जयप्रकाश यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-६ का सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, आज बिहान दुहबी नगरपालिका-८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् । इटहरीबाट दुहबी जाँदै गरेको कोशी प्रदेश ०२-०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घाइतेमध्ये नेपाल प्रहरीका हबल्दार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चारै जनाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
हबल्दार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएको छ ।