सरकारलाई झुक्याएर बजारमा ‘मन्द विष’ :  एक्सट्रिम इनर्जीकाे ल्याब रिपोर्ट, भेटियो तेब्बर क्याफिन !

दियोपोस्ट संवाददाता

काठमाडौँ । केही दिनअघि अर्थात् गत कात्तिक ११ गते नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऊर्जा पेय पदार्थबारे एउटा वक्तव्य निकालेको थियो । वक्तव्यअनुसार नेपाल सरकारले ऊर्जा पेय पदार्थको मापदण्ड निर्धारण गरेको छैन । युरोपियन फुड सेफ्टी प्राधिकरण (ईएफएसए) र संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (युएसएफडीए) ले बनाएको मापदण्डलाई मात्रै आधार बनाएर नेपाल सरकारले वक्तव्य निकालेको छ ।

नागरिकको दृष्टिबाट यो अत्यन्तै लाजमर्दो विषयसमेत हो किनकि नेपालभर ऊर्जा पेय पदार्थ बिक्री गरिरहेका उद्योगहरूको मापदण्डसमेत राज्यले तय गर्न सकेको छैन । दुई विदेशी मुलुकले तय गरेको मापदण्डअनुसार एक दिनमा कुल ४ सय मिलिग्रामभन्दा बढी क्याफिन उपभोग गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ ।

सरकारले निकालेको उक्त वक्तव्यअनुसार नेपालमा सञ्चालनमा रहेका ऊर्जा पेय पदार्थ उत्पादक कम्पनीहरूले प्रतिक्यान १ सय मिलिग्राम मात्रै क्याफिन रहेको प्राविधिक रिपोर्ट उपलब्ध गराएका छन् । तर, सरकारी वक्तव्यलाई चुनौती दिने गरी थाई एग्रो फुडले बजारमा ल्याएको ऊर्जा पेय पदार्थ ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’को प्राविधिक परीक्षण गर्दा एउटै क्यानमा १८९ मिलिग्रामभन्दा बढी क्याफिन रहेको पाइएको छ । दियो पोस्टले भारतको प्रतिष्ठित ल्याबमा परीक्षण गराउँदा एकै क्यानमा यतिका मात्रामा क्याफिन रहेको फेला पारेको हो । भारतको हरियाणास्थित भारतीय सरकारबाट मान्यता प्राप्त एक प्रयोगशालामा परीक्षण गराउँदा भित्री रासायनिक संरचना र यसले पार्ने डरलाग्दो जोखिम उजागर गरेको छ ।

उच्च क्याफिनयुक्त एक्सट्रिम इनर्जी प्रयोग गर्दा बालबालिका तथा युवाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने देखिएको छ । दियो पोस्टले भारतीय ल्याबबाट ब्याच नम्बर : एक्सई ४–८३०, उत्पादन मिति : अगस्ट २०२६, र परिमाण : ३३० मिलिलिटर भएको एक्सट्रिम इनर्जी ड्रिङ्कको परीक्षण गराएको छ । प्राप्त ल्याब रिपोर्टअनुसार सबैभन्दा संवेदनशील पक्ष यसमा रहेको क्याफिनको मात्रा हो । ल्याब परीक्षणअनुसार यसमा प्रतिलिटर २८९.३० मिलिग्राम क्याफिन भेटिएको छ । जुन सरकारलाई बुझाइएको विवरण अर्थात् १ सय मिलिग्रामभन्दा ८९ मिलिग्राम बढी मात्रा हो ।

 

सरकारी नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म कुनै कागजी मापदण्डसमेत तयार नपारे पनि क्याफिनको अत्यधिक मात्राको सेवनले बालबालिका तथा वयस्कको शरीरमा विभिन्न प्रभावहरू पर्छन् ।

वयस्कहरूको तुलनामा बालबालिकाको शारीरिक तौल निकै कम हुन्छ । यस्तो अवस्थामा एकै क्यानमा २८९ मिलिग्रामभन्दा बढी क्याफिन पुग्दा उनीहरूको अविकसित स्नायु प्रणालीमा तीव्र असर पर्छ, जसले बालबालिकामा अत्यधिक बेचैनी, अति चञ्चलपन, र अनिद्राको समस्या निम्त्याउने विज्ञहरूले बताउने गरेका छन् । क्याफिनको तीव्र मात्राले मुटुको धड्कन अचानक बढाउने र रक्तचाप असन्तुलित गर्ने गर्छ, जसले मुटुसम्बन्धी जोखिम बढाउँछ ।

एक्सट्रिम इनर्जी ड्रिङ्क प्रयोगकर्ताहरूले सामान्यतया एक दिनमा एक क्यान मात्रै प्रयोग गर्दैनन् । केही दिनअघि एक युवाले सामाजिक सञ्जालमा अस्पतालको बेडमा रहेको दाबी गर्दै सार्वजनिक गरेको भिडियोमा आफूले दैनिक चार–पाँच क्यानसम्म एक्सट्रिम इनर्जी ड्रिङ्क सेवन गरेको बताएका छन् ।

५ क्यान प्रयोग गर्दा २८९ मिलिग्रामको दरले हिसाब गर्दा १ हजार १५ सय मिलिग्राम हाराहारी क्याफिन मात्रै ती युवाको शरीरमा प्रवेश गरेको देखिन्छ । यो भनेको सुरक्षित सीमाभन्दा दुई गुणा बढी हो । यस्तो अवस्थामा व्यक्तिको शरीरमा ‘क्याफिन विषाक्तता’ निम्त्याउने चिकित्सकहरूले बताउने गरेका छन् । सामाजिक सञ्जालमा भिडियोमा बोल्ने ती युवाले अत्यधिक छटपटी हुने, हातखुट्टा काँप्ने, टाउको दुख्ने र रिँगटा लाग्ने भएको बताएका थिए । वाकवाकी लाग्ने र वान्तासमेत भएपछि उनी अस्पताल गएका थिए । अस्पतालको बेडमा छटपटाउँदै गरेका ती युवाले आफूले ५ देखि ६ सय क्यानसम्म एक्सट्रिम इनर्जी ड्रिंक्स सेवन गरेपछि आफ्नो यो अवस्था भएको बताएका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनको आधिकारिक उपभोक्ता स्वास्थ्य कार्यविधिअनुसार एक स्वस्थ वयस्कका लागि दैनिक ४ सय मिलिग्राम क्याफिन मात्रै सुरक्षित मानिन्छ । यसमा सुरक्षित सीमाभन्दा अत्यधिक (विशेष गरी १ हजारदेखि १२ सय मिलिग्रामको हाराहारी) मा क्याफिन सेवन गर्दा तीव्र विषाक्तता, मुटुको चाल अनियमितता हुने र स्नायु प्रणालीमा गम्भीर असर पर्ने स्पष्ट उल्लेख छ ।

 

अमेरिकी साइकियाट्रिक एसोसिएसनले तयार पारेको चिकित्सा क्षेत्रको आधिकारिक मानक पुस्तिकाले अत्यधिक क्याफिन सेवनका कारण शरीरमा देखिने प्रतिक्रियालाई (क्याफिन इन्टक्सिकेसन) का रूपमा वर्गीकृत गरेको छ । छटपटी, हातखुट्टा काँप्ने, अनिद्रा, मुटु ढुकढुक हुने, पेट गडबड हुने लक्षणहरू यसैको चिकित्सकीय मापदण्ड रहेको उल्लेख छ । दीर्घकालीन रूपमा उच्च क्याफिन प्रयोगबारे नेसनल इन्स्टिच्युट अफ हेल्थ र मेयो क्लिनिकको मेडिकल डेटाबेस तथा क्लिनिकल अध्ययनले उच्च रक्तचाप, ग्यास्ट्रिक, पेटको अल्सर, शरीरबाट हड्डी खिएर कमजोर हुने जोखिम रहने पुष्टि गरेको छ ।

सम्बन्धित खबर