
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १ सय २९ रनमा अलआउट भयो ।
चितवनका लागि उसामा मीरले अविजित २८ रन बनाए । यस्तै, कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन जोडे ।
बलिङतर्फ कर्णालीका हुसेन तलातले तीन विकेट लिए भने पवन सर्राफ र मार्क वाटले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।
कर्णालीका हुसेन तलातले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन बनाए ।
चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक-एक विकेट हात पारे ।