करिब २२ करोडको हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो ।

थाइल्यान्डबाट काठमाडौँ आएका टिघारेको लगेज जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा प्रहरीले हेरोइन बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान विमानस्थलमा शङ्कास्पद गतिविधिका आधारमा गरिएको जाँचका क्रममा टिघारेको लगेजबाट उक्त लागुऔषध फेला परेको थियो ।

बरामद भएको हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीको अनुमान छ । टिघारेको गतिविधि सामान्य लागुऔषध ओसारपसारमा सीमित नरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको विगतको अन्तर्राष्ट्रिय यात्रा विवरणसमेत अनुसन्धान भइरहेको छ । प्रारम्भिक विवरणअनुसार उनी यसअघि दुई पटक लाओसबाट काठमाडौँ आएका थिए र त्यसपछि भारत गएको देखिएको छ ।

त्यस्तै, उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियासमेत भ्रमण गरेको यात्रा विवरण फेला परेको छ । यी देशहरूमा उनको आवतजावत र लागुऔषध कारोबारबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ।

एसएसपी बोहराका अनुसार प्रारम्भिक अनुसन्धानमा टिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको देखिएको छ । प्रहरीले उनको साथबाट मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्रसमेत बरामद गरेको जनाएको छ ।

टिघारेको यसअघिको लाओस-काठमाडौँ-भारत आवतजावत र अहिले थाइल्यान्डबाट काठमाडौँ आएको घटनाले पनि यस किसिमको सम्भावित मार्गबारे अनुसन्धान गर्नुपर्ने देखाएको छ । तर उनको पछिल्लो यात्राको वास्तविक उद्देश्य र बरामद हेरोइनको अन्तिम गन्तव्य प्रहरीले पुष्टि गरिसकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि पनि ठूलो परिमाणमा सेतो हेरोइन बरामद भएका घटना सार्वजनिक भएका छन् ।

२०८२ असार २१ गते थाइल्यान्डबाट बैंकक हुँदै काठमाडौँ आएका ६५ वर्षीय भारतीय नागरिक राकेश वाहबलाई प्रहरीले ६ किलो ५०० ग्राम सेतो हेरोइनसहित पक्राउ गरेको थियो । उनको लगेजबाट उक्त लागुऔषध बरामद भएको नेपाल प्रहरीको आधिकारिक विवरणमा उल्लेख छ ।

त्यसैगरी, २०८२ साउन १७ र १८ गते विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ पर्दा उनीहरूबाट कुल ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद भएको थियो । उक्त घटनामा लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका भारतीय नागरिक फिरोज अहमद र मौलेश्वरन नन्जुन्डामूर्ति पक्राउ परेका थिए ।

यी घटनाले हवाई मार्ग हुँदै नेपालमा लागुऔषध भित्र्याउने प्रयास निरन्तर भइरहेको देखाउँछन् । पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।