
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा सुरु भएको छ। उक्त प्रणाली क्रमशः पूर्वतर्फ फैलिँदै जाँदा गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने देखिएको छ ।
पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । एकाध स्थानमा असिनासमेत पर्न सक्ने भएकाले बाहिर निस्कँदा मौसमको अवस्थालाई ख्याल गर्न मौसमविद् पोखरेलले आग्रह गरेका छन् ।
उनका अनुसार आज पश्चिम नेपालमा चिसोसमेत उल्लेख्य रूपमा बढ्ने देखिएको छ । यद्यपि, भोलिदेखि भने देशभरको मौसममा सुधार आउने संकेत देखिएको छ ।