
दाङ । दाङको राजपुर गाउँपालिका-२ खालगैरामा पेट्रोल छर्केर आगो लगाइएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएका चौधरीको आइतबार बिहान ६ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका-२ मटेरिया निवासी चौधरीमाथि सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार दिउँसो पेट्रोल छर्केर आगो लगाएका थिए ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः२० बजे राजपुर गाउँपालिका-२ बेलाको खालस्थित गैरा खेलमैदानमा उक्त घटना भएको थियो । दुवै जना सँगै बसेर मदिरा सेवन गरिरहेको अवस्थामा आपसी विवाद भएपछि कार्कीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पेट्रोल छर्केर आगो लगाएपछि कार्की घटनास्थलबाट फरार भएका थिए । चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । गम्भीर घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो ।
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका-५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सामान्य विवादका क्रममा पेट्रोल छर्केर आगो लगाइएको यो घटनाले स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढाएको छ । घटनाको वास्तविक कारण, विवादको प्रकृति तथा घटनामा आरोपितको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।