
डोल्पा । सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा गम्भीर घाइते भएका डोल्पाको काइके गाउँपालिका-७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ । ३४ वर्षीय बूढाको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शनिबार निधन भएको हो ।
गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका-७ स्थित लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा बूढा गम्भीर घाइते भएका थिए ।
पहिरोमा परी घाइते भएका उनलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगन्जस्थित नर्सिङ होममा लगिएको थियो ।
पहिरोका कारण बूढाको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । अवस्था गम्भीर रहेपछि थप उपचारका लागि नेपालगन्ज पुर्याइए पनि चिकित्सकको प्रयास सफल हुन सकेन ।
बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका-७ को वडा सदस्यमा निर्वाचित भएका थिए । वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण उनी केही समयदेखि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सडक निर्माणका क्रममा भएको यस दुर्घटनाले काइके गाउँपालिका-७ ले एक जनप्रतिनिधि गुमाएको छ ।