११ सिट क्षमताको भ्यानमा कसले राख्यो २० यात्रु ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा ईभी भ्यान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको घटनामा चालकले क्षमताभन्दा अत्यधिक धेरै मात्रामा यात्रु राखेको पाइएको छ । चालकबाहेक १० सिट र चालकसहित कुल ११ सिट क्षमताको उक्त भ्यानमा चालकसहित २० जना यात्रु रहेको दुर्घटनापछि मात्रै खुलेको छ ।

काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी भ्यान दुर्घटना हुँदा त्यसमा सवार २० जनामध्ये १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहीबार बिहान पौने ६ बजे मूल सडकबाट करिब ७ सय मिटर तल भिरमा खस्दा भ्यानमा सवार रहेका १४ यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते बनेका थिए ।

दुर्घटनामा परी सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोलका २६ वर्षीय सुवेक यादव, ८ वर्षीय शिक्षा यादव, ४ वर्षीय दीपिकाकुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीय अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्डु राय यादव, २७ वर्षीय गायत्रीदेवी यादव र २७ वर्षीय पुनम यादव रहेका छन् । यस्तै, कबिलासी नगरपालिका–८ का ईभी चालक ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन् ।

अन्य तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । रिफर हुनेमा ३० वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव रहेका छन् । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

छठ मनाउन काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी बिहीबार बिहान पौने ६ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते भएका यात्रु मुकेश यादवका अनुसार छठ मनाउनका लागि एकै गाउँका मानिसहरूले ईभी भ्यान बुक गरेका थिए । काठमाडौंको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीको मलंगवा जाँदै गर्दा ईभी दुर्घटनामा परेको हो । उक्त गाडी बिहीबार बिहान करिब २:३० बजे भक्तपुरको टीकाथलीबाट मलंगवातर्फ गएको थियो ।

सिट क्षमता ११ सिट, तर २० जना यात्रु

दुर्घटनामा परेको उक्त भ्यानको सिट क्षमता ११ जनाको मात्रै रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्याम खत्रीका अनुसार ११ सिट क्षमताको उक्त ईभी भ्यानमा क्षमताभन्दा अत्यधिक धेरै यात्रु राखेर मलंगवा जाँदै थियो । भ्यानको सिट क्षमता ११ जनाको मात्रै भए पनि उक्त भ्यानमा एक नाबालक, ५ बालबालिका र १४ जना जवान यात्रु सवार थिए ।

मकवानपुरको देउरालीबाट भीमफेदीतर्फ जाने क्रममा बायाँतर्फको भीरबाट करिब ७ सय मिटर तल खसेको कारण सवारीसाधनको पार्टपुर्जा नै चिन्न नसक्ने अवस्थामा पुगेको थियो । दुर्घटनाको प्रारम्भिक कारण खुलेको छैन । यद्यपि भ्यानमा अत्यधिक धेरै यात्रु रहनु पनि दुर्घटनाको कारण हुनसक्ने बताइएको छ ।

काठमाडौँबाट फर्पिङ हुँदै मकवानपुरतर्फ जाने सवारीसाधनको चेकजाँच र नियमन गर्न फर्पिङमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको चेक प्वाइन्टसमेत रहेको छ । तर ११ सिट क्षमताको उक्त भ्यानमा २० जना यात्रु राखेर लैजाँदासमेत ती स्थानहरूमा बिना रोकतोक यात्रु पठाइएको पाइएको छ ।

यात्रुको दाबी, ‘चालक निदाएका थिए’

यता दुर्घटनामा परेका एक यात्रु मुकेश यादवले केही सञ्चारमाध्यमलाई दिएको घटना विवरणमा चालक निद्रामा रहेको देखेको बताए । मुकेशका अनुसार उक्त गाडी दुर्घटना हुनुभन्दा पहिले पनि रोकिएको थियो । चालकलाई हेर्दा उनी निद्रा र थकानमा रहेका देखिएको मुकेशले बताए ।

उक्त भ्यान काठमाडौैँ कहिले आएको थियो खुलेको छैन । यद्यपि उक्त भ्यान बुधबार नै काठमाडौँ आएको र बिहीबार बिहान करिब २ बजे नै काठमाडौँबाट मलंगवातर्फ गएको बुझिएको छ । यस कारण चालकले पर्याप्त मात्रामा आराम र निद्रा नपाएको कारण चालक निदाएको कारण दुर्घटनामा परेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुर्घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेको छ । उक्त समितिको प्रारम्भिक छानबिन गरेर प्रतिवेदन बुझाउनेछ । तर अधिकांश यात्रु निदाएको समयमा दुर्घटना भएको र अधिकांश यात्रुको मृत्यु भएको कारण दुर्घटनाको यकिन कारण पत्ता लगाउन भने कठिन छ ।