
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा पटक-पटक सुक्खा पहिरो खस्दा पूनः यातायात आवागमन प्रभावित भएको छ । पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा तिहार मनाउन घर फर्किएका सयौँ यात्रुले सास्ती बेहोर्नुपरेको छ ।
सोमबार बिहानैदेखि उक्त स्थानमा पहिरो खस्न थालेको थियो । बिहान करिब साढे ५ बजे खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो । लामो प्रयासपछि दिउँसो करिब २ बजे पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।
तर, सडक खुलेको केही घण्टा नबित्दै सोमबार राति करिब ११ बजेर १० मिनेटमा सोही स्थानमा पुनः सुक्खा पहिरो खसेपछि राजमार्ग फेरि पूर्ण रूपमा अवरुद्ध भएको थियो । लगातार पहिरो खसिरहेकाले सडकबाट ढुंगा र माटो हटाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीलाई कठिनाइ भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण पृथ्वी राजमार्गको दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको थियो । पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक उपकरणसहित टोली परिचालन गरिएको थियो ।
यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो । लगातार तीन दिनदेखि एउटै स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम दोहोरिएपछि यात्रु तथा सवारीचालक थप समस्यामा परेका छन् ।
घोप्टेभिर मुग्लिन बजारबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्दछ । उक्त सडकखण्ड काठमाडौँलाई चितवन, पोखरा तथा पश्चिम नेपालका विभिन्न जिल्लासँग जोड्ने प्रमुख मार्ग हो । यस मार्गमा हुने अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनसमेत प्रभावित हुने गरेका छन् ।
पटक–पटक पहिरो खस्दा तिहार मनाउन राजधानीबाट गाउँघर फर्किएका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । लामो समयसम्म सवारीसाधन जाममा रोकिँदा बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी यात्रुले समेत कठिनाइ भोग्नुपरेको हो ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले उक्त सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।