
काठमाडौँ । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सांस्कृतिक र्याली, बाजागाजा, शुभकामना आदानप्रदान तथा विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदै छ ।
नेपाल संवतको नयाँ वर्षलाई नेवार समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, पहिचान र ऐतिहासिक गौरवसँग जोडेर विशेष उत्साहका साथ मनाउने गरेका छन् । काठमाडौँको वसन्तपुरलगायत विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गर्दै सांस्कृतिक कार्यक्रम तथा र्याली आयोजना गरिएका छन् ।
काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे तथा दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल संवत्को नयाँ वर्ष विशेष उत्साहका साथ मनाइँदै छ ।
नयाँ वर्षको अवसरमा नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा पनि गर्ने चलन छ । आफ्नो शरीर र आत्मालाई सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्ने यस परम्पराको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके जीवन सुखमय हुने धार्मिक विश्वासका साथ म्हः पूजा गरिन्छ ।
नेपाल संवतको सुरुवात राष्ट्रिय विभूति शङ्खधर साख्वाको ऐतिहासिक योगदानसँग जोडिएको छ । ऐतिहासिक मान्यताअनुसार उनले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् सुरु गराएका थिए । सामाजिक सेवा, परोपकार र जनताको हितका लागि गरेको योगदानको सम्मानस्वरूप उनलाई तत्कालीन सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको मानिने नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको इतिहास छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन लामो समयदेखि विभिन्न तहबाट अभियान सञ्चालन हुँदै आएको थियो ।
विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।
यस वर्ष प्रतिपदा तिथि दुई दिन परेका कारण नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने कतिपय नेवार समुदायले मंगलबार म्हः पूजा तथा नयाँ वर्षका कार्यक्रम मनाइरहेका छन् ।
नेपाल संवत् केवल पात्रो परिवर्तनको अवसर मात्र नभई नेपालको मौलिक इतिहास, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र राष्ट्रिय पहिचानको प्रतीकका रूपमा समेत स्थापित छ । नयाँ वर्षको अवसरमा विभिन्न संघसंस्था तथा सांस्कृतिक अभियन्ताहरूले मौलिक भाषा, लिपि, कला, सम्पदा र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल संवत् ११४७ को सुरुवातसँगै देशभरका नेवार समुदायमा उत्साह र उमङ्ग छाएको छ । यस अवसरमा एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको वर्षका रूपमा मनाउने क्रम जारी छ ।