दैलेखमा बिरामी बोकेको जिप दुर्घटनाः एक जनाको मृत्यु, चालकको अवस्था गम्भीर

दियोपोस्ट संवाददाता

दैलेख । कालीकोटबाट बिरामी बोकेर उपचारका लागि सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सोमबार बिहान करिब साढे ५ बजे गुराँस गाउँपालिका-१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२-००१ च १२१५ नम्बरको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृतक सार्कीलाई उद्धार गरी बिहान करिब ९ बजे सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार विष सेवन गरेका बिरामीलाई अक्सिजनसहित थप उपचारका लागि सुर्खेत लैजाने क्रममा जिप दुर्घटनामा परेको थियो । बिरामीसँगै उनका आफन्त तथा कुरुवासमेत गाडीमा सवार थिए ।

दुर्घटनामा जिप चालक कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा २१ वर्षीय तपेन्द्र सिम्खडा, १८ वर्षीया गंगा सार्की, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया बिरामी महिला घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको थियो ।

दुर्घटनालगत्तै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक विवरण आए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस