
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि सुरु हुने भएका छन् । औपचारिक उद्घाटनअघि नै केही खेल सुरु गर्न लागिएको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुने बताइएको छ । समापन समारोह मंसिर २७ गते गर्ने कार्यतालिका तय गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
राखेपको प्राविधिक समितिबाट अनुमोदित खेल तालिकाअनुसार मंसिर ८ गतेदेखि ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । प्रारम्भिक चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुने बताइएको छ ।
आवास व्यवस्थापन तथा प्रतियोगिताको समग्र सञ्चालनलाई सहज बनाउन खेलहरू चरणबद्ध रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको आवास, खानपान, यातायात र अन्य व्यवस्थापकीय चापलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो कार्यतालिका बनाइएको बताइएको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा कुल ३२ खेल समावेश गरिएका छन् । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार अधिकांश खेल कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन् । सुर्खेतमा एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रो आयोजना गर्ने तयारी छ ।
त्यस्तै, टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन रुकुम पश्चिममा, आईटीएफ तेक्वान्दो दैलेखमा तथा बुद्धिचाल कालीकोटमा सञ्चालन हुने तय भएको छ । पौडी र सुटिङ नेपालगञ्जमा आयोजना हुनेछन् ।
यसरी प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा समेत सञ्चालन हुनेछन् । कर्णालीमा आवश्यक खेल पूर्वाधारको अभावका कारण केही खेल अन्य प्रदेशमा आयोजना गर्नुपर्ने अवस्था आएको हो ।
३२ खेलको आयोजना गर्ने तयारी भइरहँदा कर्णाली प्रदेशकै सबै जिल्लाले प्रतियोगिताको प्रत्यक्ष आतिथ्य गर्ने अवसर भने पाएका छैनन् । सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र कालीकोटमा विभिन्न खेल आयोजना हुने भए पनि हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल राखिएको छैन ।
यसपटक भने संघीय सरकार, प्रदेश सरकार र आयोजक पक्षले प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै तयारीलाई तीव्रता दिएका छन् ।
प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतको वीरेन्द्रनगर रहनेछ । कर्णाली प्रदेश रंगशालासहित विभिन्न खेलस्थलको व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् मुख्य आयोजक र कर्णाली प्रदेश खेलकुद विकास परिषद् सहआयोजकका रूपमा रहेका छन् ।