घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । आइतबार बिहान करिब १०ः१५ बजे पहिरो खसेपछि मुग्लिन-नौबिसे सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन रोकिएका छन् । अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो हटाउने काम भइरहेको र थप अवरोध नभए करिब आधा घण्टाभित्र सडक सञ्चालनमा ल्याउन सकिने प्रहरीको भनाई छ ।

पृथ्वी राजमार्ग काठमाडौँलाई पोखरा तथा देशका पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख सडक मार्ग हो । यस मार्गमा अवरोध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित हुने गरेको छ ।

यसअघि पनि चितवनको इच्छाकामना क्षेत्रका घोप्टेभीर, सिमलधारा तथा अन्य स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग पटक-पटक अवरुद्ध हुँदै आएको छ।