सर्वोच्चका चार प्रस्तावित न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदित

दियोपोस्ट संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको शनिबार (आज ) को बैठकले न्यायपरिषद्बाट सिफारिस भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । उनीहरूमाथि शुक्रबार र शनिबार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।
उजुरीकर्ताका उजुरीमाथि छलफल तथा प्रस्तावित न्यायाधीशहरूसँगको सुनुवाइ प्रक्रिया पूरा गरेपछि समितिले चारै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ ।