
काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । कालो पोशाकमा ब्यानर र प्लेकार्डसहित भेला भएका युवाहरूले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप तथा पत्रकारितामाथि दबाब सिर्जना गर्ने प्रयासको विरोध गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘सञ्चारगृहमाथिको हस्तक्षेप किन, जवाफ खोइ सरकार ?’, ‘लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’, ‘प्रश्न सोध्ने कलम चाहिन्छ, सरकारको भजन गाउने मुखपत्र होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले सरकारले पत्रकारितामाथि प्रहार गर्दै नागरिकको बोल्न पाउने अधिकारसमेत कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।
उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण स्वीकार्य नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।