सिन्धुलीमा अटो दुर्घटना, पाँच जनाको अवस्था गम्भीर

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिन्धुलीमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

हरिहरपुरगढी गाउँपालिका-३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो अटो सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटोमा चालकसहित सात जना सवार थिए । दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू मकवानपुर र सिन्धुलीका स्थानीय रहेको र उनीहरू सबैलाई उपचारका लागि मकवानपुर पठाइएको छ । अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।