काग तिहारमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो

दियोपोस्ट संवाददाता

काठमाडौँ । काग तिहारका अवसरमा आज राजधानीका विभिन्न कागेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो ।

नेपालकै ठूलो कागको मूर्ति रहेको यस मन्दिरमा बिहानैदेखि पूजा तथा दर्शनका लागि भक्तजन पुगेका छन् । कागेश्वरी मन्दिरमाथिको सहिद उद्यानमा एक हजार किलो अष्टधातुबाट कागको मूर्ति निर्माण गरिएको छ ।

उक्त मूर्ति विश्वकै ठूलो कागको मूर्ति भएको जनाइएको छ। त्यस्तै, मन्दिरमा २२७ किलोको पित्तललगायत अष्टधातुबाट बनेको अर्को कागको मूर्ति पनि रहेको छ । यी मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

काग तिहारका दिन कागेश्वरी मन्दिरमा गई पूजा तथा दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्ष कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यसैगरी, वसन्तपुरस्थित कागेश्वरी मन्दिर र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा तथा आराधना गर्ने भक्तजनको भीड लागेको छ ।

काग तिहारका अवसरमा घरघरमा पनि कागलाई मीठा परिकार खान दिएर पूजा तथा सम्मान गर्ने परम्परा रहेको छ ।