दियोपोस्ट समाचार प्रभाव: अन्तत बिचौलियासँग मुछिएपछि प्रधानन्यायाधीश शर्मा इजलाशबाट बाहिरिए !

दियोपोस्ट संवाददाता

काठमाडौँ। सर्वोच्च अदालतका मुद्दा मिलाउने चर्चित बिचौलिया इनम सापकोटासँगको लेनदेन सम्बन्धी समाचार सार्वजनिक भएपछि प्रधानन्यायाधीश मनोज कुमार शर्मा इजलासबाट बाहिरिएका छन्।

मङ्गलबारेदेखि उनी सर्वोच्च अदालतको कुनै पनि इजलासमा उपस्थित भएका छैनन्। मङ्गलवार वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलगायतका न्यायाधीशहरूले इजलासको नेतृत्व गरेका छन्।

प्रधानन्यायाधीश अनुपस्थित भएसँगै आज सर्वोच्च अदालतमा ९ वटा इजलास मात्र सक्रिय रहे। आज कुल २ सय ६८ वटा पेसी तोकिएकोमा ३१ वटा मुद्दामा फैसला भएको छ भने ५२ वटामा आदेश जारी भएको छ। त्यस्तै २९ वटा मुद्दा स्थगित भएका छन्, १ सय ४९ वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् भने ७ वटा मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएका छन्।

 

गत कात्तिक १२ गते दियो पोस्ट डटकमले प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको नाममा बिचौलिया इनम सापकोटाले अमेरिकामा घुस रकम जम्मा गर्न गरेको संवाद सम्बन्धी समाचार प्रकाशन गरेको थियो। नेपाली तथा अमेरिकी बैङ्क विवरणसहित समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले वक्तव्य जारी गर्दै सापकोटासँग आफ्नो कुनै चिनजान नरहेको र प्रकाशित समाचार झूटो भएको दाबी गरेका थिए। तर, पछिल्लो समय सापकोटाको बयानमा समेत शर्माको नाम जोडिएको छ।

 

यस घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने तयारी थालेको थियो। यता, अर्का न्यायाधीश हरि फुयाँलले पनि बिचौलिया सापकोटालाई भेटेको खबर प्रकाशित भएपछि उनी पनि बिदामा बसेका छन्।